• २१ असार २०८१, शुक्रबार

मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली

blog

काठमाडौँ, कात्तिक १८ गते । नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा तत्कालका लागि जेनेरेटर सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । 

पहिरोले क्षति पु-याएका स्थानीय विद्युत्गृह मर्मत गर्न समय लाग्ने भएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

गत असोज १९ देखि २५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युत्गृहको कुलोमा ठूलो क्षति पु-याएको छ । नहरमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि मुगु र हुम्ला जिल्ला विद्युत्विहीन भएका थिए । दुई जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पनि पुगेको छैन ।   

प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि कालीकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुम्लाको सिमकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि १२५ र १०० केभीएका जेनेरेटरको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् । 

घिसिङले विद्युत् सेवा नपुगेका कर्णालीका जिल्लामध्ये मुगुमा यसै वर्षभित्र र हुम्लामा दुई वर्षभित्र विद्युत् जोडिने बताउनुभएको छ । 

बुधबार मुगु र हुम्लामा विद्युत् केन्द्रहरूको अनुगमन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुगु समाचारदाता हरिकृष्ण ऐडीका अनुसार कार्यकारी निर्देशक घिसिङले बुधबार नेपाल विद्युत् प्राधिकरणको गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा उहाँले अवरुद्ध विद्युत् एक महिनाभित्र मर्मत गरेर सञ्चालन गरिने बताउनुभयो । उहाँले मुगुलाई यसै आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी पनि दिनुभयो । 

वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले उपभोक्ताको सहजताका लागि वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गर्न त्रिशूलीबाट प्राधिकरणको जेनेरेटर ल्याएर विद्युत् उत्पादन गर्न लागिएको बताउनुभयो । 

उहाँका अनुसार जेनेरेटरबाट दैनिक चारदेखि पाँच घण्टा विद्युत् उत्पादन हुँदा दैनिक ६० हजार रुपियाँ खर्च हुने अनुमान छ । उहाँले सोही अनुपातले हिसाब गर्दा मासिकमा १८ लाख रुपियाँ खर्च हुने बताउनुभयो । अविरल बर्सातले १२७ मिटर नहर क्षतिग्रस्त भएको छ, जसमा १०५ मिटरमा सामान्य क्षति पुगेको छ ।

बाढीकै कारण गमगाढ वितरण केन्द्रको विद्युत्गृह आसपास राखिएका ट्रान्समिटरलगायत अर्थिङसमेत बगाएको छ । विद्युत् वितरणमा प्रयोग भएका दर्जनौँ पोलमा पनि क्षति पुगेको छ । 

यसैगरी हुम्ला समाचारदाता राजन रावतका अनुसार घिसिङले हुम्लामा दुई वर्षभित्र राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरिसक्ने बताउनुभएको छ । पहिरोले क्षति पुगेको हिल्दुम लघुजलविद्युत् आयोजनाको बुधबार स्थलगत अनुमगन गर्न हुम्ला आइपुग्नुभएका कार्यकारी निर्देशन घिसिङले सो कुरा बताउनुभएको हो । 

दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमकोटसम्म राष्ट्रिय प्रसारण लाइन जोडिने दाबी उहाँको छ । हाल हिल्दुम लघुजलविद्युत् आयोजनाको नहरमा पहिरोले क्षति पु-याएका कारण करिब एक महिनादेखि सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिजुली राखिनेछ । 

राष्ट्रिय प्रसारण लाइन कालीकोटको खुलालु हुँदै बाजुरा जिल्लाबाट हुम्लासम्म ल्याउने काम हुँदै छ । उहाँले यस वर्ष हुम्लासम्म राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि टेन्डरसमेत भइसकेका कारण अब जतिसक्दो चाँडो विद्युुत् सेवा हुम्ला जिल्लामा सहज हुने विश्वास व्यक्त गर्नुभयो । सिमकोटका लागि एक मेगावाटको सौर्य विद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।