• १२ साउन २०८१, शनिबार

शान्ति अहिंसाको कामना गर्दै मौन व्रत

blog

आगेजुङ गुम्बामा आयोजित मौन व्रतमा सहभागी लामा गुरुहरू । तस्बिर: राधा लुइँटेल

फिदिम, कात्तिक १८ गते । शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् । 

भारतका सिक्किम र दार्जिलिङलगायत पूर्वका १५० भन्दा धेरै बौद्ध गुरुहरुले तीन दिने मौन व्रत बसेर शान्ति र अहिंसाका पक्षमा प्रार्थना गरेका हुन् । यसरी निराहार व्रत बस्दा मानव जातिले दैनिक कार्य गर्दा जान अनजान हत्या भएका जीवात्मासँग क्षमा माग्नका साथै उनीहरूको आत्मा मोक्षका लागि प्रार्थना पनि गरिने प्रमुख लामा गुरु भिक्षु तेन्जिङले बताउनुभयो ।

यस गुम्बामा प्रत्येक वर्षको कात्तिक शुक्ल पूर्णिमाको छेक पारेर मौन व्रत बस्दै बौद्ध धर्म संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विगतका तीन वर्ष भने कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यो कार्यक्रम स्थगित गरिएको थियो । देशमा स्थायी शान्तिको कामना गर्न विभिन्न स्थानबाट ६० भन्दा धेरै लामा गुरुहरू आगेजुङ गुम्बामा भेला भएका थिए ।

जिल्लाको फालेलुङ गाउँपालिकामा पर्ने यो गुम्बामा २०५८ सालसम्म बौद्ध धर्म दर्शन र त्रिपिटक पढाइ हुन्थ्यो । द्वन्द्वकालपछि भने  पठनपाठन प्रभावित भएको गुम्बाका अध्यक्ष लामा तेन्जिङ शेर्पाले बत्ताउनुभयो । 

Author

राधा लुइँटेल