• ७ जेठ २०८१, सोमबार

थप बाइस मेगावाट निर्यात गर्न अनुमति

blog

काठमाडौँ, कात्तिक १८ गते । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत्् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो । 

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री प्रस्ताव यसअघि नै गरेको थियो ।  

प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । 

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखुखोला ‘ए’, २५ मेगावाट क्षमताको काबेली ‘बी’–१, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेँवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव गरिएको थियो ।  त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित १११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आउनुभएको थियो । 

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपियाँ खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपियाँ ९१ पैसा रहेको छ । 

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ गतेदेखि विभिन्न छवटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको थियो । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरकफरक हुने गरेको छ ।