• १९ असार २०८१, बुधबार

समानुपातिक मत संरक्षणमा दल

blog

देउखुरी समाचारदाता

देउखुरी, कात्तिक १८ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा आबद्ध दलहरूले आफ्नो पार्टीको समानुपातिक मतलाई संरक्षण गर्न लागिपरेका छन् । कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीले आफूहरूले केन्द्रको निर्देशनअनुसार प्रत्यक्ष मत गठबन्धन र समानुपातिक मत कांग्रेसका लागि माग्न कार्यकर्तालाई प्रशिक्षण दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी समानुपातिकतर्फको आफ्नो मत संरक्षण गर्ने रणनीतिमा छौँ, कार्यकर्तालाई पनि मत माग्दा समानुपातिक मत पार्टीलाई भनेका छौँ । मत कसरी दिने भनेर प्रशिक्षण पनि गराएका छौँ र कार्यकर्ताले पनि सोहीअनुसार नै चुनावी प्रचारप्रसार गर्दै आएका छन् ।” नेकपा (एमाले)ले भने समानुपातिक र प्रत्यक्ष मत माग्न समस्या नै नभएको बताएको छ । 

नेकपा (एमाले) दाङका सचिव मनोहर बुढाथोकीले जहाँ पनि एमालेलाई चारवटै मत दिनुस् भन्दै माग्दै हिँडेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा आबद्ध दलका साथीहरूलाई समस्या होला, हामीलाई समस्या हुने कुरै भएन । एमालेले दाङको हकमा कुनै पार्टीसँग तालमेल गरेको छैन । माओवादी केन्द्रले पनि समानुपातिक मत संरक्षण गर्न आन्तरिक गृहकार्य गरिरहेको छ । कार्यकर्ता भेला गराएर मतदान गर्ने तौरतरिका सिकाएको माओवादी अन्य पार्टीको मत तान्ने दाउमा देखिन्छ । 

माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले आफ्नो पार्टीले समानुपातिक मत संरक्षण गर्ने काममा कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फरक–फरक पार्टी भए पनि साझा उम्मेदवार हुनाले प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा आफ्नो पार्टी नछोड्नु होला भन्ने गरी नै गएका छौँ, गठबन्धनमा आबद्ध दलहरूबीचको सहमति पनि यही हो ।” एकीकृत समाजवादी पनि पहिलो पटक सङ्घीय र प्रदेश निर्वाचनमा भाग लिएकोले आफ्नो मतको संरक्षण गर्ने दाउमा छ । एकीकृत समाजवादी दाङ जिल्ला सदस्य गणेश चौधरी पहिलो पटक निर्वाचनमा भाग लिएपछि देशभरि नै राम्रो पकडका लागि समानुपातिकमा उत्तिकै जोड दिएको बताउनुहुन्छ । “हाम्रो पार्टीले दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभामा गठबन्धनकै तर्फबाट उम्मेदवारी पाएको छ तर समानुपातिकतर्फ पनि आ–आफ्नै हिसाबले पार्टीलाई मत दिने हो भनेर लागेका छौँ,” उहाँले भन्नुभयो ।