• ७ वैशाख २०८१, शुक्रबार

हटे दुई लाख तीस हजार मृतक मतदाता

blog

काठमाडौँ, कात्तिक १८ गते । मतदाता नामावलीबाट दुई लाख ३० हजार मृतक मतदाताको नाम हटाइएको छ। निर्वाचन आयोगले आमनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम दुई लाख ३० हजार मृतक मतदाताको नाम हटाइएको जानकारी दिनुभयो। आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले भदौ तेस्रो साता मतदाता नामावलीमाथि दाबी विरोधका लागि वडामा सूची पठाउँदा वडाले गरेको सिफारिसका आधारमा मृतक मतदाताको नाम हटाइएको बताउनुभयो। वडा सचिवले वडा कार्यालयमा दर्ता कायम मृतकको नामसँग भिडाउँदा फेला परेका मृतकको नाम नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गरेको थियो। 

आयोगका प्रवक्ता पौडेलले वडा सचिव र जिल्ला निर्वाचन कार्यालयबाट आएको सिफारिसको आधारमा आयोगले मतदाता नामावलीमा कायम रहेका मृतक मतदाताको नाम हटाइएको बताउनुभयो। आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। स्थानीय निर्वाचनपछि मतदाता नामावली दर्ता सुरु हुँदा करिब चार लाख ७१ हजार जनाको नामावली सङ्कलन गरिएको थियो। अद्यावधिकपछि करिब दुई लाख ३० हजार मृतक र २० हजार दोहोरिएकासहितका नाम हटाइएको छ। 

निर्वाचन कार्यालय काठमाडौँका प्रमुख भट्टराईले भन्नुभयो, “मृतक मतदाताको नाम पूर्ण रूपमा हटिसकेको छैन, अझै विद्यमान हुनसक्छ।” उहाँले वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच उपयुक्त समन्वय हुन नसक्दा सङ्ख्या अद्यावधिक गर्न समस्या भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दैनिकजसो आइपर्ने कामबाट नै फुर्सद नहुँदा नामावली अद्यावधिक गर्न समय मिलाउन कठिन भएको गुनासोसमेत वडा कार्यालयबाट आयो।”

काठमाडौँबाट मात्रै कम्तीमा एक हजारभन्दा बढी मृतकको नाम मतदाता नामावलीबाट हटाइएको छ। “आगामी दिनमा मृत्यु दर्ता गर्दा र विवाह दर्ता गर्दा नै मतदाता नामावलीलाई अद्यावधिक गर्न पाउने गरी प्रविधिको व्यवस्थापन गर्नुपर्ने देखियो,” भट्टराईले तर्क गर्नुभयो। गोरखापत्र दैनिकले गत जेठ २९ गते ‘मृतक मतदाताको तथ्याङ्क भयावह’ शीर्षकमा करिब छ लाखभन्दा बढी मृतक मतदाता हुन सक्ने समाचार प्रकाशन गरेपछि आयोगले मृतक मतदाताको नाम हटाउन परिपत्र गरेको थियो।