यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) मङ्सिर २२ गते । बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एक दिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानका एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
शिविरमा पाँचसय तीन वटा बाख्रा, ६५ वटा गाई भैंसी, ४० वटा बङ्गुर र आठ सय २७ वटा कुखुरा र हाँसको उपचार गरिएको थियो । त्यसैगरी ९८ जना किसानलाई प्राविधिक सल्लाहसमेत दिइएको बारबर्दिया नगरपालिकाका पशुसेवा शाखाका प्रमुख दीपकराज थापाले बताउनुभयो । उहाँले शिविरमा पशुपंक्षीहरूको स्वास्थ्य जाँच, परिजिवि नियन्त्रण, भ्याक्सिनलगायतका सुविधा दिइएको बताउनुभयो ।
किसानलाई गाउँ गाउँमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य शिविर राखिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेका पशु उपचार केन्द्रबाट नियमित सेवा लिई लाभ लिनका लागि किसानहरूलाई अनुरोध गर्नुभयो ।
बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो ।