काठमाडौँ, कात्तिक १७ गते । नेपाली सेनाको आयोजनामा पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिनुभयो ।
उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताउनुभयो । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले दुई लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख ६० हजार, तेस्रोलाई एक लाख, चौथोलाई २० हजार र पाँचौँलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।