• १२ साउन २०८१, शनिबार

समृद्धिका लागि जनताको विश्वास आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि एमालेले जनताको विश्वासको मत प्राप्त गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गर्ने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय हितको रक्षा, मुलुकमा सुशासन, राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुहुँदै नेता पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकारले मात्र देश बनाउन सक्ने चर्चा गर्नुभयो । काठमाडौं ५ का उम्मेदवारले प्रस्तुत गरेको प्रतिबद्वतापत्रबाट आगामी दिनमा पनि निर्देशित भइरहने र त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व नहुने हो भने, राष्ट्रिय हितको रक्षा प्रभावकारी रूपमा हुन सक्दैन । राजनीतिक स्थायित्वका लागि दलहरू भरोसायोग्यको रूपमा उभिन सकेका छैनन् ।” 

देशको अस्तित्वका लागि, सार्वभौमिकता, आर्थिक विकास र समृद्धिका लागि पनि एमाले नेतृत्वको बलियो सरकारको खाँचो रहेको उहाँको भनाइ छ । आमाको नामबाट सन्तानले नागरिकता पाउनुपर्ने उहाँले माग गर्नुभयो । “अङ्गीकृत नागरिकता लिने कुरामा ठिक अडान लिन सकेनौँ भने, राष्ट्रिय स्वतन्त्रतामा आँच पुग्नसक्छ” नेता पोखरेलले थप्नुभयो, “एमालेले जनताको विश्वासको मत प्राप्त  सकेन भने देशको आर्थिक समृद्धि कायम हुन सक्दैन ।”

मुलुकलाई दह्रो राजनीतिक पार्टीको आवश्यकता रहेको विषय जोड्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले महिलाको सन्दर्भमा, शिक्षा, स्वास्थ्यको क्षेत्रमा विगतमा पूरा गर्न नसकेका कामहरू आफू निर्वाचित भएमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।