• १२ मंसिर २०८१, बुधबार

रास्वपाको ३९ पृष्ठ लामो वाचापत्र

रोजगारीका लागि विदेशिन नपर्नेदेखि देशको भ्रष्टाचार हटाउनेसम्म

blog

निर्वाचन वाचापत्र सार्वजनिकपछि आफ्नो मन्तव्य राख्नुहुँदै सभापति रवि लामिछाने । तस्बिर : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं, कात्तिक १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विसं. २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने वाचा गरेको छ । नेपालको संविधान २०७२ मा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने रास्वपाको प्रतिबद्धता छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले बिहीबार सार्वजनिक वाचापत्र ३९ पृष्ठ लामो छ । जसमा नेपाली रोजगारीका लागि विदेश जान बाध्य नहुनेदेखि नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने उल्लेख छ ।

१. समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुनेछ । विसं. २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई समुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइने छ भने सम्पूर्ण नेपालीहरू पूर्ण बीमाको दायारा हुने छन् । जसले मूलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नेछ ।

२. नेपाल अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीको उत्कृष्टमा मात्र होइन, घुमिएको गन्तव्यको रूपमा पनि संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुनेछ ।

३. नेपाल विश्व शान्ति क्षेत्रको रूपमा स्थापित हुनेछ । दिन होस् या रात होस्, छोरा होस् वा छोरी होस् वा वृद्धा होस् जो कोही नेपालको जुनसुकै भूभागमा शान्ति र सुरक्षा प्रत्याभूत भई निस्फिक्री हिँडडुल गर्न सक्नेछ ।

४. नेपाल हरित (कार्बन नेगेटिभ) राष्ट्रको रूपमा स्थापित हुनेछ । दुर्लभ वन्य जन्तुको सङ्ख्यामा वृद्धि भई दुर्लभ रहने छैनन् ।

५. कुनै पनि नेपालीहरू रोजगारीका लागि विदेश जान बाध्य हुने छैनन् ।

६. नेपालका प्रत्येक भूभाग एक अर्कासँग गुणस्तरीय र सुलभ यातायात प्रणालीमा जोडिएका हुने छन् ।

७. सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहुँच र उपलब्धता हुनेछ । डिजिटल तथा सूचना प्रविधि क्षेत्रमा हरेक नेपाली शिक्षित हुनेछन् । नेपाल अन्तर्राष्ट्रिय रूपमा डिजिटल हब बन्ने छ र यस क्षेत्रमा आत्मनिर्भर हुनेछ ।

८. नेपालका सबै किसिमका पानीका स्रोतहरूलाई संरक्षण र व्यवस्थित गरी बाढी, भू–क्षय, पहिरो, डढेलो, हिमताल विस्फोट लगायतका प्राकृतिक प्रकोपहरूको सम्भावना न्यून हुनेछन् । भूकम्प, आँधी, शितलहर, लु जस्ता समस्यहरुबाट हुने मानवीय क्षतिको पूर्व जानकारी दिई व्यवस्थापन गरी मानवीय क्षति न्यून हुनेछ ।

९.गरिबीको रेखामुनि रहेका नेपालीको सङ्ख्या शून्य हुनेछ ।

१०. सबै नागरिकका सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।

११. सबै किसिमका विभेद र दलनहरूको उन्मुलन भएर कुनै पनि जाती वा समुदायलाई आरक्षणको आवश्यकता पर्ने छैन । सबैले राज्यको मूलधारमा समान पहुँच र अवसर पाइ आरक्षण बिना नै खुला प्रतिस्पर्धामार्फत सबै समानुपातिक, समावेशिता प्रतिनिधित्व हुने भएकाले आरक्षण सान्दर्भिक हुने छैन ।

१२. आधुनिक सुविधा सम्पन्न गाउँहरू हुनेछन् । सहरहरू गाउँ जस्ता हुनेछन् ।

१३. खेलकुदमा अन्तर्राष्ट्रिय (ओलम्पिक, क्रिकेट टि–ट्वान्टी विश्वकप) पदक हासिल गरिसकेका हुनेछौँ ।

१४. नेपाल विश्वमा न्यून भ्रष्टाचार हुने मुलुकमा पर्नेछ ।

१५. नेपालमा पूर्णतया लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सम्पूर्ण जनताले आफ्नो जनताले आफ्नो मतको अर्थ बुझ्ने गरी सहभागी भएको निर्वाचन पक्रियाबाट उन्नत लोकतन्त्रको विकास भइसकेको हुनेछ ।

१६. मित्र राष्ट्रहरूसँगका असमान सन्धि सम्झौतहरु खारेज भई समानताको आधारमा सम्बन्धहरू स्थापित भइसकेको हुनेछ । नेपाली पासर्पोट शक्तिशाली हुनेछ ।

सम्बन्धित समाचार

३१ वर्षभित्र नेपालमा गरिबी हटाउने अठोट (पूर्णपाठसहित)