• १२ असोज २०८१, शनिबार

‘आश्वासन होइन विकास चाहियो’

blog

लीलाधर वली

घोराही, कात्तिक १७ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावी गतिविधि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै आउने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरू सक्रिय रूपमा लागिपरेका छन्। 

सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत पार्टीका उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर चुनावी कार्यक्रम तथा भेटघाटमा लागिपरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवारसँगै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि मतदातालाई विभिन्न आश्वसन दिँदै भोट मागिरहेका छन्। 

तर मतदाताहरूले उम्मेदवार तथा पार्टीका नेता कार्यकर्तालाई आश्वासनका वचनभन्दा विकासका योजना ल्याउने कुरामा ग्यारेटी सुनिश्चित गर्न माग गरिरहेका छन्। निर्वाचनमा आश्वासन दिने तर काम नगर्ने, बर्सेनि उही कुरामा दोहो-याउने नयाँ एजेन्टा नल्याउने अवस्थाले मतदाता निराश बन्दै गएको घोराही उपमहानगरपालिका–७, पर्सा निवासी भीमसेन पुनमगरले बताउनुभयो।

उहाँका अनुसार नेताको आश्वासनको भरपर्दा आफ्नो टोलमा विद्युत् पोल गाडिएको पाँच वर्ष भइसक्दा पनि बत्ती बल्ने त कता हो कता पोलमा तार तान्ने कामसमेत पूरा हुन नसकेको बताउनुभयो। 

 “जनताको धेरै विरोधपछि गत वर्ष पाँचवटा पोलमा तार तान्ने काम भएको थियो तर अपुरो तार तान्ने काम गर्दा विद्युत्का दुईवटा पोलसमेत बर्सातको समयमा ढलेका छन्,” उहाँले भन्नुभयो। 

चुनावी भेटघाटका क्रममा पर्सा पुग्नुभएका सत्ता गठबन्धनका उम्मेदवार रेखा शर्मालाई स्थानीयवासी पुनले भन्नुभयो, “अब त सडकमा गाडेका पोलसमेत ढलेपछि घरमा बत्ती बाल्ने आश पनि मर्न थाल्यो उम्मेदवारज्यू।’  

उहाँका अनुसार गाउँमा पाँच वर्षको अवधिमा पाँचवटा पोलमा मात्रै विद्युत् विस्तारको काम भएको छ। अन्य विकाससमेत हुन सकेको छैन। घर अगाडिका विद्युत् पोलमा तार नहुँदा आर्थिक रूपमा सम्पन्न परिवारले टाढाबाटै तार तानेर विद्युत् बत्ती बाले पनि गरिब परिवारले बत्ती बाल्न नसक्ने अवस्था रहेको बताउनुभयो। उहाँका अनुसार आफ्नो गाउँ मात्रै नभएर पर्साबाट राजपुर जोड्ने बाटोमा गाडेका पोलको अवस्था पनि उस्तै छ। जसले गर्दा ३०/३५ घर विद्युत् बत्तीबाट वञ्चित हुनुपरेको छ। 

त्यसैगरी घोराही उपमहानगरपालिका–७, बेसाही निवासी भूपबहादुर शाहलाई पनि नेताको आश्वासनको विश्वास लाग्न छोडेको छ। निर्वाचनको समयमा जनताका सबै माग पूरा गर्ने बताउने तर जितेपछि गाउँ नै नफर्किने प्रवृत्तिबाट दिक्क मतादाताहरू चुनावका क्रममा दिने आश्वासनप्रति विश्वास लाग्न छोडेको बताउँछन्। 

उहाँका अनुसार नेताले काम नगर्ने प्रवृत्तिको एउटा उदाहरण हो गुर्जे खोलामा तटबन्धन गरेर बेसाई गाउँमा सिँचाइको व्यवस्था गरिने आश्वासन। “गाउँमा सिँचाइका लागि कच्ची कुलो छ तर भरपर्दो छैन। जसले डेढ दशकअघिदेखि स्थानीयवासीले गाउँमा आउने हरेक नेतासँग भरपर्दो गुर्जे खोलामा पक्की बाँधसहित नालाको माग गर्दै आएका छन्। नेताहरूले पनि हुन्छ भन्छन् तर काम कहिल्यै हुँदैन।” उहाँले नेताहरूले जनतासँग गरेको वाचा पूरा नहुँदा सिँचाइको अभावमा गाउँको धेरै खेत बाँझै रहेको बताउनुभयो। 

सिँचाइका लागि तटबन्धनको व्यवस्था गरिदिन निर्वाचनमा गाउँमा आउने नेताहरूलाई पटक–पटक आग्रह गरे पनि कसैले पनि ध्यान नदिने गरेको भनाइ उहाँको छ। “बेसाही गाउँदेखि पश्चिममा रहेको खुर्जे खोलामा पानी खेर जाने गरेको छ। कच्ची कुलो भए पनि भर पर्दो छैन। तटबन्धन गरेर पक्की नाला बनाएर पानी ल्याउन सके बेसाहीको पूरै जग्गामा सिँचाइ हुने अवस्था छ। 

निर्वाचनका क्रममा आश्वासन पाउने मतदाता पर्सा गाउँ निवासी भीमसेन र बेसाही निवासी भूपबहादुर उदाहरण मात्रै हुनुहुन्छ। उहाँहरू जस्ता धेरै मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, सडक कालोपत्रे, विद्युत् बत्ती, सिँचाइको व्यवस्था, कुलो निर्माण र ह्युमपाइप राख्नेलगायतका आश्वासन पाउने गरेका छन्। 

नेताहरूले वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने अवस्था रहेको नागरिक समाज दाङका संयोजक केबी मसाल बताउनुहुन्छ।  निर्वाचन जित्नका लागि आश्वासन बाँड्ने तर काम नगर्ने प्रवृत्तिले राजनीतिप्रति वितृष्णा जगाउने काम गरेको संयोजक मसालले बताउनुभएको छ।