• १३ मंसिर २०८१, बिहिबार

‘राजनीतिक स्थायित्वका लागि निर्वाचन महत्त्वपूर्ण’

blog

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गोरखापत्रकर्मीसंग विशेष कुराकानी गर्नुहुँदै । तस्बिर सौजन्य: उद्धव बोगटी

अशोक अधिकारी / प्रकाशविक्रम शाह

धनगढी, कात्तिक १७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र लोकतन्त्र सुदृढीकरणका लागि आगामी निर्वाचन महत्वपूर्ण हुने बताउनुभएको छ । 

चुनावी अभियानका क्रममा गृह प्रदेश सुदूरपश्चिम आइपुग्नुभएका प्रधानमन्त्री देउवाले धनगढीमा बुधबार गोरखापत्रसँग विशेष कुराकानी गर्नुहुँदै आगामी निर्वाचन राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण हुने बताउनुभएको हो । 

संसद्को अघिल्लो कार्यकालमा संविधान र लोकतन्त्रको रक्षार्थ लड्नुपरेको स्मरण गर्नुहुँदै उहाँले आगामी निर्वाचनबाट देश स्थिरतातर्फ उन्मुख हुने बताउनुभयो । निर्वाचनबाट प्राप्त हुने जनादेशले राष्ट्रका समस्या समाधानको बाटो खोल्ने कुरामा जोड दिनुहुँदै प्रधानमन्त्री देउवाले आवधिक निर्वाचन लोकतन्त्रको प्राण रहेको बताउनुभयो । 

उहाँले निर्भयसाथ चुनावी प्रक्रियामा भाग लिन अनुरोध गर्दै शान्तिपूर्ण निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको दोहो-याउनुभयो । उहाँले मतदातामा देखिएको उत्साहले निर्वाचन र मताधिकारप्रति नागरिक सचेत रहेको पुष्टि भएको बताउनुभयो । 

संसद्को अघिल्लो कार्यकालमा प्रतिनिधि सभा दुई पटक विघटन भएको स्मरण गर्दै उहाँले संसदीय व्यवस्थाको सबलीकरणका लागि वाम लोकतान्त्रिक गठबन्धनको जित अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्र जोगाउन हामी एक ठाउँमा उभिएका हौँ भन्ने कुरा जनताले बुझेका छन् । त्यसैले सत्तारूढ गठबन्धनले बहुमत ल्याउँछ ।”

प्रधानमन्त्री देउवाले निर्वाचित प्रतिनिधिमै निरङ्कुशतावादी सोच शोभनीय नहुने तर्क गर्दै आगामी निर्वाचनबाट मतदाताले लोकतन्त्रप्रति प्रतिबद्ध उम्मेदवार र पार्टीलाई छान्ने विचार व्यक्त गर्नुभयो । उहाँले वर्तमान सत्तारूढ गठबन्धन लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले जनताबाट अनुमोदित हुने दृढता व्यक्त   गर्नुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहितको सत्तारूढ गठबन्धनले निर्वाचनमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि सङ्घीयता सबलीकरण गर्दै आधारभूत तहका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सुविधालाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश केन्द्रित कार्यक्रमका लागि निर्वाचन आयोगको सहमति लिएर बुधबार कैलालीको धनगढी आउनुभएका प्रधानमन्त्री देउवाले कार्यकर्ता भेटघाटका क्रममा निसङ्कोच गठबन्धनका पक्षमा मतदान गर्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । 

त्यसअघि प्रधानमन्त्री देउवाले निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे कैलालीस्थित सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुभएको थियो । 

डडेल्धुराबाट चुनावी सभा प्रारम्भ हुँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आमसभाको सुरुवात गर्दै हुनुहुन्छ । बिहीबार गृह जिल्ला डडेल्धुराको सदरमुकाम बाघखोरस्थित बसपार्कमा चुनावी आमसभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । कात्तिक २० गतेसम्म उहाँ गृह जिल्लामै रही सातवटा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सचिव शेर भण्डारीले जानकारी दिनुभयो । डडेल्धुराबाटै सभापति देउवाले चुनावी आमसभाको सुरुवात गर्नुहुने र सातवटै स्थानीय तहमा पुगेर चुनावी सभालाई सम्बोधन गर्नुहुने उहाँले जानकारी दिनुभयो । डडेल्धुरामा प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र छ । देउवा यस क्षेत्रबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आउनुभएको छ ।