• १२ असोज २०८१, शनिबार

झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज

blog

निर्माण भएको झोलुङ्गे पुल । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १४ गते । गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गमा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई सहज भएको छ । अग्लुङ्गको दुई खोला छहरा खोला र सङ्रेङ्ग खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आपत् बापतमा सहज भएको हो ।

साबिकको अग्लुङ्ग गाविसको –८, निपानेदेखि दुई घण्टा लगाएर विद्यार्थी अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनका लागि जानुपर्ने बाध्यता छ । वर्षायामको समयमा त्यहाँबाट विद्यार्थी विद्यालय आउन निकै गाह्रो पर्थ्यो । अहिले पुल बनेपछि सहज भएको छ । खोला ठूलो हुँदा कैयौँ विद्यार्थी घर फर्किनेगरेका थिए । वर्षायामको समयमा बिरामी भएर स्वास्थ्य चौकी जान र वडाको कामले वडा कार्यालयमा जान पनि निकै गाह्रो पर्थ्यो । अहिले पुल निर्माण भएपछि वर्षायाममा आवत–जावतमा निकै सहज भएको स्थानीयले बताएका छन् । 

अहिले छहरा खोलामा पुल निर्माण भएपछि त्यहाँका विद्यार्थीलाई सहज भएको स्थानीय रेमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायामको समयमा विद्यार्थी मात्र होइन हामी पनि खोलाको डिलमा बसेर खोला कति बेला घट्छ भनेर हेथ्र्यौं ।” 

“खोलामा पुल निर्माण नहुँदासम्म बढेको खोला तर्न खोज्दा हाम्रो किताब कापी भएको झोला समेत बगाउने गर्थ्यो । त्यसैमा खोलाले बगाउँदा हामी धेरै पटक घाइते भएका छौँ” अग्लुङ्ग माविबाट एसइई दिनुभएका छहरा खोला नजिकै बस्ने दीपक विश्वकर्माले भन्नुभयो । अहिले पुल निर्माण भएपछि विद्यार्थीसँगै स्थानीयलाई सहज भएको उहाँको भनाइ छ । 

“खोलाले धेरै घरपालुवा जीवजन्तु बगाएको थियो । हामीलाई घाँस दाउरा गर्न खोलापारी जानुपर्थ्यो । वर्षायाममा निकै अप्ठ्यारो हुन्थ्यो” स्थानीय भगत चन्दले भन्नुभयो, “धान रोप्न जान खोला तर्नुपर्थ्यो । कहिलेकाहीँ खोला बढ्दा खोला पारी नै बस्नुपर्ने बाध्यता थियो । अहिले पुल निर्माण भएपछि हामीलाई सहज भएको छ ।”

छहरा खोलामा निर्माण भएको झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविस –८ निपानेको छहरा र वडा –९ ओख्ले दहलाई जोडेको छ । सो पुल २०७५ असोजमा ४० लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको भगत चन्दले जानकारी दिनुभयो ।

यता, सङ्रेङ्ग खोलामा २०६७ असारमा १५ लाख ९१ हजार ५७४ रुपियाँ लागतमा निर्माण भएको झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा –३, धारा धनु बस्ने र वडा –९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ । 

झोलुङ्गे पुल निर्माण नहुँदासम्म ओख्लेदहबाट यस विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी एक घण्टाभन्दा बढी समय हिँडेर जानेगरेको अग्लुङ्ग माविबाट एसइई दिनुभएका अशोक विश्वकर्माले बताउनुभयो । पुल निर्माण हुँदा विशेष गरी विद्यार्थीलाई सहज भएको उहाँले बताउनुभयो ।