• १३ असोज २०८१, आइतबार

आइसिसी टी-२० विश्वकप : अष्ट्रेलियाको दोस्रो जित

blog

जितपछि खुशी मनाउँदै अष्ट्रेलियाका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १४ गते । आयोजक अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा दोस्रो जित निकालेको छ । ब्रिसबेनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो । 

जितका लागि अष्ट्रेलियाले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि लोर्कान टुकरले अविजित ७१ रन बनाउनुभयो ।

ग्यारेथ डेलानीले १४ तथा पाउल स्टर्लिङ र मार्क एडीएरले ११/११ रन जोड्नुभयो । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई दुई विकेट लिनुभयो ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ६३ रन बनाउनुभयो । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्शले २८, टिम डेभिडले अविजित १५ र ग्लेन म्याक्सवेलले १३ रन बनाउनुभयो । बलिङमा आयरल्यान्डका बारी म्याककार्थीले तीन तथा जोस लिटलले दुई विकेट झार्नुभयो । जितसँगै समूह ‘ए’ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाले चार खेलबाट पाँच अङ्क बनाएको छ । रन रेटका आधारमा शीर्षस्थानमा हरेको न्युजिल्यान्डको पनि समान पाँच अङ्क नै छ । पराजित आयरल्यान्ड तीन अङ्कसहित चौथो स्थानमा छ । तीन अङ्क बनाएको इङ्ल्यान्ड तेस्रो तथा दुई दुई अङ्क बनाएका श्रीलङ्का र अफगानिस्तान क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । एजेन्सी