• १२ साउन २०८१, शनिबार

घुम्ती शिविरबाट महाकुलुङवासी लाभान्वित

blog

घुम्ती शिविरमा सेवा लिँदै महाकुलुङबासी । तस्बिर : सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, कत्तिक १४ गते । सोलुखुम्बुको दुर्गममा पर्ने महाकुलुङ गाउँपालिका –३ का सप्तसिङ कुलुङले आफ्नो छोराको जन्मदर्ता काठमाडौंमा बनाउन पाएपछि खुसी हुँदै भन्नुभयो, “यही कामको लागि मात्र गाउँमा जानु परेको भए धेरै खर्च लाग्थ्यो, समय निकाल्न कठिन हुन्थ्यो । तर गाउँपालिकाले हामी बसेकै ठाउँमा सेवा प्रवाह गर्दा धेरै सहज भयो ।”

अर्का सेवाग्राही छत्र कुलुङले पनि आफू गाउँमा गएर विवाह दर्ता गर्न नभ्याएको अवस्थामा आफू बसेकै स्थानमा शिविरले सेवा दिँदा समय र खर्चको बचत भएको बताउनुभयो । सानो कागजले धेरै काम रोकिएका स्थानीयलाई शिविरले ठूलो सहयोग पुगेको उहाँको भनाइ छ ।

महाकुलुङ गाउँपालिकाले राजधानीमा बसोबास गर्दैआएका महाकुलुङका जनतालाई सेवा दिने उद्देश्यले चार दिने घुम्ती शिविरमार्फत सेवा प्रदान गरेपछि उहाँहरूजस्ता धेरै सेवाग्राहीलाई राहत मिलेको हो । यिनै कामका लागि गाउँपालिका कार्यालय जानुपर्दा करिब २० हजारसम्म खर्च लाग्छ भने कम्तीमा तीन दिन समय लाग्ने गर्छ उहाँले भन्नुभयो ।

शिविरबाट पञ्जीकरणका सबै काम र विभिन्न सिफारिसका कामहरू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बस्नेतले जानकारी दिनुभयो । राजधानीमै सेवा पाएपछि सेवाग्राहीको भीड लागेको उहाँले बताउनुभयो । 

आफू जनताको सेवा गर्न निर्वाचित भएकाले जनतालाई जसरी सहज हुन्छ मिल्नेसम्म प्रभावकारी सेवा दिने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताउनुभयो । यसअघि वडा नम्बर २, ४ र ५ को शिविर भइसकेको र हाल १ र ३ को भइरहेको उहाँले बताउनुभयो । वडा १ का अध्यक्ष पर्खिधन कुलुङ र ३ का अध्यक्ष दुर्गाबहादुर कुलुङले जनतालाई बसोबास गरेकै स्थानमा सेवा दिन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।