• १३ साउन २०८१, आइतबार

क्रिकेटर सन्दीपविरुद्ध मुद्दा दर्ता

blog

फाइल तस्बिर ।

काठमाडौं, कात्तिक १४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

सन्दीपविरुद्ध यसअघि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सकेर अघिल्लो शुक्रबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको हो ।

सन्दीपविरुद्धको मुद्दामा १० देखि १२ वर्ष कैद सजायको माग गरिएको छ । नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर छानबिन गर्दै आएको थियो ।

तीन पटक छानबिनका लागि अदालतबाट म्याद थप गरी प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै आएको थियो । सन्दीपले नाबालिकालाई भदौ ५ गते काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर बलात्कार गरेको भन्दै भदौ २१ गते सन्दीपविरुद्ध उजुरी परेको थियो ।

सन्दीपले भने आफूमाथि लागेको आरोप झुट्टा भएको र आरोप लगाउने व्यक्ति नाबालिका नभएको बताउँदै आउनुभएको छ । सन्दीपको मुद्दामा मङ्गलबारदेखि अदालतले बयान गराउने र थुनछेक बहस सुरु गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।