• १२ असोज २०८१, शनिबार

कारको ठक्करले शिशुसहित तीन जनाको मृत्यु

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १४ गते । रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा ओमसतिया –४ पननीकै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । त्यस्तै शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मञ्जु कुर्मी घाइते हुनुभएको छ ।

छठ समापनका लागि घाट जानेक्रममा उहाँहरूलाई भैरहवातर्फबाट गएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ परेका छैनन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने नम्बर नखुलेको कार र र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।