• ११ मंसिर २०८१, मङ्गलबार

हराउन थाले रोटे र लिङ्गेपिङ

blog

तनहुँ समाचारदाता 

तनहुँ, कात्तिक १३ गते । दशैँदेखि हरिबोधनी एकादशीसम्म गाउँघरतिर जताततै देखिने रोटे र लिङ्गेपिङ अचेल विरलै देखिन्छन्।  

गाउँघरमा पिङ राख्ने चलन घट्दै गएकाले रोटे र लिङ्गे पिङ हराउन थालेकाले विरलै देखिएका हुन्। गाउँघरका चोक, चउर, चौतारामा पिङ राख्ने, साथीसँगी सबै जम्मा भएर सबै भेट्ने थलो बन्ने गरेकोमा अहिले त्यस्तो चलन हराउँदै गएको छ। 

पहिले भेट्ने थलो पिङ खेल्ने ठाउँ हुने गरेकोमा अचेल पिङ हाल्न छाडेपछि भेट्न परे घरमै पुग्नुपर्ने अवस्था आएको व्यास नगरपालिका–११ पोल्याङ निवासी उत्तम कैनीले भन्नुभयो। 

उहाँले भन्नुभयो, “उहिले खुब रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा भएर रमाउने गरिन्थ्यो। सुख दुःख साटिन्थ्यो। अहिले त कस्तो जुगजमाना आयो। ती पुराना सबै कुरा बिलाउन थाले, हराउन थाले।” 

नेपाली संस्कृति परम्पराअनुसार पिङ हाल्ने चलन हराउन लागेकोले संरक्षण गर्ने उद्देश्यले विद्यालयमा पिङ हालेको व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष अङ्ग्रेजी माध्यमिक विद्यालयका अध्यक्ष वृषराज श्रेष्ठले जानकारी दिनुभयो। 

संस्कृति संरक्षणको अतिरिक्त बालबालिकाले भुल्ने वातावरण नहुँदा मोबाइलको लतमा फसेकाले त्यसलाई हटाउन टेवा पुग्ने विश्वासमा पिङ राखिएको सो विद्यालयका प्रधानाध्यापक दीपक सिग्देलले बताउनुभयो। 

पिङका साथै विद्यालयमै निःशुल्क घोडा चढ्ने व्यवस्था मिलाउँदा विद्यार्थी खुसी भएको सिग्देलले जानकारी दिनुभयो। ‘टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउने बालबालिका त्यसलाई छाडेर विद्यालयमा पिङ खेल्न र घोडा चढ्न आएको देख्दा आगामी वर्षदेखि यसलाई निरन्तरता दिइने प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘बालबालिकालाई विकल्प दिने हो भने घरबाहिर रमाउन सक्छन्।”  

रोटेपिङका लागि आवश्यक पर्ने सालको काठ सहज रूपमा पाउन नसकिने र गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको व्यास नगपालिका–१० स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले बताउनुभयो। 

शिक्षक आचार्यले भन्नुभयो, “गाउँमा रोजगारीको अभावले युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँघर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ। पहिले जस्तो चहलपहल छैन, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो।” 

फाट्टफुट्ट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको उहाँको भनाइ छ। लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो। बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे। एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर सालको काठको रोटेपिङ बनाइन्थ्यो, उहाँले पुरानो स्मरण गर्दै भन्नुभयो। 

पिङ बनाउनलाई आवश्यक काठ, बाँस आदि सामग्री पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गेपिङ देखिन छाडेको उहाँको भनाइ छ। बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गेपिङ खेल्ने चलन मासिँदै गएको उहाँले बताउनुभयो। 

लिङ्गेपिङको सट्टा अग्लो रुखको तेर्साे परेको हाँगामा पनि डोरी बाँधेर पिङ खेल्ने गरिन्छ। चाडबाडको समयमा यसरी पिङ खेलेर पनि आनन्द लिइन्छ।