अमृतप्रसाद पौडेल
म्याग्दी, असार २८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ ले आठ हजार मिटरभन्दा अग्ला हिमालको ५० औँ पटक आरोहण गर्नुभएको छ ।
पछिल्लो पटक आठ हजार मिटरभन्दा अग्लो पाकिस्तानको नाङ्गा पर्वतमा पुगेसँगै उहाँले आठ हजार मिटरभन्दा अग्लो हिमालको ५० औँ आरोहण पूरा गर्नुभएको हो । पुर्जाले गरेका ५० आरोहणमध्ये २२ आरोहण बिनाअक्सिजन गर्नुभएको छ ।
२८ पटकको आरोहण वैकल्पिक अक्सिजनसहित गर्नुभएका पुर्जाले २२ औँ आरोहण भने अक्सिजनबिना नै गर्नुभएको हो । निम्सको इलाइट एक्सपिडिसनका प्रतिनिधि गोविन्द बरुवालले नेपाल र बेलायतको दुई सय वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्मानमा उहाँले चुचुरामा गोर्खा र युके स्पेसल फोर्सेसको झन्डा फहराएको बताउनुभयो । सन् २००३ मा ब्रिटिस आर्मीमा छनोट भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आरोहणका बारेमा आधारभूत ज्ञान प्राप्त गर्नुभएको थियो ।
१६ वर्ष बेलायती सेनामा काम गर्नुभएका निम्स दाइले २०६९ को पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्नुभएको थियो । त्यही वर्ष पहिलो पटक छ हजार ११९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्राको सुरुवात गर्नुभएको थियो । आरोहण थालेको १२ वर्षको अवधिमा पुर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका आठसहित विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ५० पटक आरोहण गर्नुभएको छ ।
विश्वका सात वटै महादेशका अग्ला चुचुरोमा बिनाअक्सिजन आरोहणको रेकर्डसमेत उहाँले नै कायम गर्नुभएको छ । सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको के–टुको आरोहण पुर्जाले जाडो मौसममा गर्नुभएको थियो । उहाँले बनाएको विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहणको रेकर्ड अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेका छैनन् ।
बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा समेत काम गर्नुभएका पुर्जाले गोर्खा एक्सपिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व समाल्नुभएको थियो । सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल हुनुभएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गर्नुभएको छ ।
इलाइट एक्सपिडिसनका संस्थापकसमेत रहनुभएका पुर्जाको नाममा पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी छन् । उहाँले हिमालमा मृत्युको पर्खाइमा अलपत्र आरोहीलाई समेत निःशुल्क उद्धारसहित आपत्कालीन अवस्थामा सहयोग गर्दै आउनुभएको छ ।