• १३ साउन २०८१, आइतबार

बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन

blog

फाइल तस्बिर

मुगु, कात्तिक ८ गते । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।

गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पुर्‍याएको छ । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । केही समयभित्रै  पुनर्निर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत् आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत् उत्पादनको प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो । 

भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत् सेवा लिने ग्राहकको सङ्ख्या तीन हजार एक सय  छ ।