• २२ वैशाख २०८१, शनिबार

तिहारमा झिलिमिली बत्ती (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक ७ गते । तिहार सुरु भएलगतै बजारमा सामान किन्ने र बेच्नेको भीड बढेको छ। बजारमा विभिन्न रङ्गका झिलिमिली बत्तीले सजिएको छ। तिहारलाई बत्तीको चाड पनि भन्ने गरिन्छ। तिहारमा हरेक घर विभिन्न झिलिमिली बत्तीले सजिएका हुन्छन्। 

पहिलेपहिले भने तिहारमा माटाको दियो लगायतमा बत्ती बालेर घर झिलिमिली बनाउने चलन थियो। तर, अहिले माटाको दियो कम प्रयोग भएको छ। यसको सट्टामा बजारमा आजभोलि विभिन्न बत्ती पाइन्छ  जसले काम सजिलो बनाउनु सँगसँगै दियोबाट हुनसक्ने आगलागीको सम्भावनालाई पनि अन्त्य गरेको छ। 

तिहारमा विशेष महत्त्व राख्ने झिलिमिली बत्तीले पनि सडकलाई अझै मनमोहक बनाएको छ। बजारमा सामान किन्ने र बेच्ने सँगसँगै रातको समयमा झिलिमिली बत्तीको मजा लिने मानिसको भीड लाग्ने गर्दछ। काठमाडौंको न्यूरोडमा तिहारको उपलक्ष्यमा विभिन्न थरिका बत्ती राखिएका छन्। 

बजारमा विभिन्न किसिमका बत्ती उपलब्ध छन्। तर, यस वर्ष भने बत्तीको आयात घटेको तर भाउ वृद्धि भएको महाबौद्धका अरुण शाही बताउनुहुन्छ। उहाँका अनुसार गत वर्ष १५० देखि २०० रुपियाँमा बेचेको बत्ती यो वर्ष तीन सय पचास रुपियाँसम्म पुगेको उहाँको भनाइ छ। 

उहाँ भन्नुहुन्छ, “सरकारले सबै सामानको भन्सार बढाएको छ। जसले गर्दा गएको सालभन्दा यो वर्ष बत्तीको मूल्य दोब्बर भएको हो।” बजारमा विभिन्न प्रकारका बत्ती, फूल, फलफूल, झिलिमिली  लगायत अन्य सामाग्रीको खरिद बिक्रीले तिहारको रौनक बढेको छ।