• १२ मंसिर २०८१, बुधबार

निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनुहुन्न : प्रमुख आयुक्त थपलिया

blog

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलिया । फाइल तस्बिर

काठमाडौं, कात्तिक ७ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ ।

दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

‘‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाड पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरुलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु ।’’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘चाडपर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदातालाई अवाञ्छितरूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित दल, उम्मेदवार र सबै मतदातामा अपिल गर्दछु ।’’

उहाँले फूल, बत्ती र रङ्गको पर्व दीपावली तथा सद्भाव र भ्रातृत्वको प्रतीक छठपर्वले हरेक मान्छेको जीवनमा उल्लास, उमङ्ग र ऊर्जा ल्याए जस्तै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।