• १९ असोज २०८१, शनिबार

टी–२० विश्वकप

सुपर १२ को पहिलो खेलमा न्युजिल्यान्ड विजयी

blog

अविजित ९२ रन बनाएपछि न्युजिल्यान्डका डेभोन कन्वे । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक ५ गते । टी–२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया न्युजिल्यान्डसँग पराजित भएको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । दुई सय एक रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो । 

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाउनुभयो । प्याट कमिन्सले २१, मिचेल मार्सले १६, कप्तान आरोन फिन्चले १३ र टिम डेबिडले ११ रन बनाउनुभयो । बलिङमा न्युजिल्यान्डका मिचेल स्यान्टेनर र टिम साउथीले तीन/तीन विकेट लिनुभयो । ट्रेन्ट बोल्डले दुई तथा लक्की फर्गुसन र ईश सोधीले एक एक विकेट लिनुभयो । 

यसअघि न्युजिल्यान्डका लागि ओपनर डेभोन कन्वेले अविजित ९२ रन बनाउनुभयो । फिना एलेनले ४२, जेम्स निशमले २६, कप्तान केन विलियम्सले २३ र ग्लेन फिलिप्सले १२ रन बनाउनुभयो । बलिङमा अष्ट्रेलियाका जोस हेजलउडले दुई तथा एडम जाम्पाले एक विकेट लिनुभयो ।

जितसँगै न्युजिल्यान्ड समूह ‘ए’ को शीर्षस्थानमा छ । आजै समूह ‘ए’को दोस्रो खेलमा इङ्ल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सुपर १२ को समूह ‘ए’ मा श्रीलङ्का र आयरल्यान्ड पनि छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।