तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार ४ गते । गुल्मीमा चिया खेतीको परीक्षण सफल भएपछि थप क्षेत्रफलमा चिया खेती विस्तार गरिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङको धुँवाखोलामा गत वर्ष इलामबाट दस हजारभन्दा बढी बिरुवा ल्याएर परीक्षण गरिएको थियो । चियाको बिरुवा राम्रो भएकाले थप क्षेत्रफलमा चिया खेती विस्तार गरिएको यहाँका स्थानीयहरुले जनाएका छन् ।
भुर्तुङको धुँवाखोलामा गत वर्ष तमु उद्यमशिल महिला समूहले बाँझिएको जग्गालाई सदुपयोग गर्नका लागि चिया खेतीको अवधारण लिएको जनाएको छ । सो समूहको एक उपसमिति बनाएर चिया तथा अन्य बिरुवाहरुको रोपण र अध्ययनका लागि योजना बनाएको परिकल्पनाकार आशिष गुरुङले बताउनुभयो ।
समूहमा ३६ घर परिवार आवद्ध रहेका छन् । गत वर्ष बाँझिएको १७ रोपनी जग्गामा अहिले चिया खेतीको सुरुवात गरेको र अहिले करिव २० रोपनी जग्गामा चियाका बिरुवा रोपण गर्न लागेको उहाँले बताउनुभयो । यसका साथै स्थानीय तमु टोलविकास संस्था, तमु युवा क्लव, धुवाखोला खानेपानी उपभोक्ता तथा सरसफाइ समिति धुवाखोला चिया बगान संरक्षण उपभोक्ता समितलगायतका संस्थाहरु चिया खेतीमा संलग्न रहेका छन् ।
धुँवाखोलामा होमस्टे पनि सञ्चालमा ल्याएकाले पर्यटन प्रवर्धन गर्ने गरी समूह लागेको छ । होमस्टे र चिया खेतीको माध्यमबाट स्वरोजगार बन्ने गरी आफूहरुले योजना बनाएको उप समितिका संयोजक कर्णबहादुर गुरुङले बताउनुभयो ।
बाँभिएको जग्गालाई सदुपयोग गरी स्वदेशमानै रोजगार बन्ने र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने तमु उद्यमशिल महिला समूहका अध्यक्ष जमुना गुरुङले बताउनुभयो ।
चिया खेतीका लागि ओसिलो क्षेत्र चाहिने र हावामा पनि पानीको मात्रा हुने क्षेत्र यस खेतीका लागि उत्तम हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । विशेष गरी समुन्दी सतहदेखी आठ सय मिटरभन्दा माथि एक हजार आठ सय मिटरसम्म चिया खेती गर्न सकिने कार्यालयले जनाएको छ ।
गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीले उक्त समूहलाई चिया तथा कफी विकास बोर्ड इलाम पठाएर अध्यन अवलोकन गराएको थियो । यसका साथै प्राविधिकहरुसँग अन्तक्रिया गराएको र चिया खेतीको बारेमा सामान्य तालिमको पनि व्यवस्था गरेको बाली विकास अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।