• १० मंसिर २०८१, सोमबार

तिहारका लागि पाला बनाउन भ्याइनभ्याई

blog

माटोको पाला बनाउँदै ताराबहादुर कुमाल । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक ५ गते । उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन सघाइरहनुभएको छ ।  

अन्य समयको तुलनामा तिहारमा माटाका पाला धेरै बिक्री हुने भएपछि  अहिले उहाँको परिवारले अन्य काम छाडेर पाला बनाउने काम गर्दैआएको गाजुराम थारु कुमालले बताउनुभयो । माग धेरै भएपछि आफुलाई पाला बनाउन भ्याइनभ्याई रहेको बताउनुभयो । ‘तिहारका लागि दशैंलगत्तै माटोको पाला बनाउने सोच थियो । तर पानीका कारण सुकाउने समस्या हुँदा बनाउन सकिएन’ उहाँले भन्नुभयो । 

तिहारमा प्लाष्टिकका झिलीमिली बत्ती र मैनवत्तीभन्दा माटोको पालामा बत्ती बाल्नु राम्रो हुनेभएकाले पछिल्लो समय पालाको माग धेरै हुनेगरेको उहाँले बताउनुभयो । माटोको पाला राम्रो विक्रि हुने भएकाले अन्य काम छाडेर पाला बनाउने काममा आफ्नो परिवार लागेको उहाँको भनाइ छ । 

‘अरुबेला खासै विक्री नहुने गरे पनि तिहारको समयमा धेरै विक्रि हुनेगरेको छ’, उहाँले भन्नुभयोे, ‘अरू काम छाडेर परिवार नै पाला बनाउने र पकाउने काममा लागेका छौ ।’ पालाहरु अहिले घरबाटै विक्रि हुनेगरेको समेत उहाँले बताउनुभयो । अडरअनुसार केही पाला घोराही, भालुवाङसँगै प्युठान र कपिलवस्तुलगायतका ठाउँमा पठाएको बताउनुभयो । 

अन्य समयमा माटोबाट बन्ने गमला, पैना, खुत्रुके, घैंटा लगायतका सामग्री बनाउने गरे पनि अहिले ती सामग्री बनाउन छाडेर पाला मात्रै बनाउने गरेकोे बिनायक थारु कुमाल बताउनुहुन्छ । पालाको राम्रो काम भएकाले आफुले पनि बुबा र बाजेसँगै एक सातादेखि माटोको पाला बनाउने काम गर्दैआएको बताउनुभयो ।  

फुर्सदमा पाला बनाउने काम गर्दा पढाइ खर्च  जुटिरहेको उहाँले बताउनुभयो । विनायकले गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँले दैनिक २ सयदेखि २ सय ५० वटासम्म पाला बनाउने बताउनुभयो ।  ‘बुबा–बाजेले दिनमा चार सयसम्म बनाउनुहुन्छ । तर म भर्खरै सिक्दै गरेकाले २ सय ५० सम्म बनाउन सक्छु’ विनायकले भन्नुभयो, ‘राम्रोसँग सीप सिकेपछि आम्दानीको राम्रो स्रोत हुने आशा छ ।’ 

उत्पादित माटोका भाँडा र पालाहरु देउखुरी उपत्यकासहित दाङ, प्युठान र कपिलवस्तुका विभिन्न ठाउँमा विक्री हुनेगरेको गाजुरामले बताउनुभयो । प्रतिपाला पाँचदेखि दश रुपियाँमा विक्री हुनेगरेको उहाँको भनाइ छ ।  

विक्रीमा छैन समस्या

माटोका भाँडाहरु विक्रीका लागि कुनै समस्या नभएको अर्का स्थानीय ताराबहादुर कुमालले बताउनुभयो । कुनै समय स्टिल तथा प्लाष्टिकका भाँडाहरुले गर्दा माटाका भाँडाहरु विक्रीमा समस्या भए पनि पछिल्लो समय राम्रो विक्री हुँदैआएको उहाँको भनाइ छ । 

‘माटोका भाँडा बनाउन सके जति पनि विक्री हुनेगरेको छ’ उहाँले भन्नुभयोे, ‘बनाउने मानिसको अभाव छ । विक्रीका लागि समस्या छैन् ।’ पहिलेको तुलनामा पछिल्लो समय माटोका भाँडाहरु विक्रीका लागि सहज भएको उहाँले बताउनुभयो ।