• १५ वैशाख २०८१, शनिबार

कपिलवस्तु दुर्घटना: ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

blog

कपिलवस्तु कार्तिक ५ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्रक वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।

घटनामा परी दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको मृत्यु भएको छ । यसै गरी दुर्घटनामा सई गोविन्द सुवेदी र प्रेम मल्ल, नेपाल प्रहरीका कुलबहादुर घर्ती  घाइते हुनु भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताउनु भयो । मल्लको टाउकोमा रगत जमेको र घर्तीको आइसियु राखेर उपचार भएको बताइएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

ना १ ग ५५४ नम्बरको भ्यान साँझ पौने ७ बजेतिर अनियन्त्रित भई साइकललाई ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शी पत्रकार पार्वती आचार्यले बताउनुभयो । सडकमा गुडिरहेको भ्यान अचानक मोडिएर एकै छेउबाट हिँडेको साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि अनियन्त्रित हुँदै केही पर सडक किनारमा दुर्घटना भएको थियो । आचार्यले दुर्घटना भएको भ्यानको सिसाको टुक्राले समेत लागेको बताउनुभयो । दुर्घटनाको प्रकृति हेर्दा भ्यानमा यान्त्रिक समस्याका कारण अनियन्त्रित भएको हुनसक्ने आचार्यको दाबी थियो ।  

Author

जानु पाण्डे