• ११ असोज २०८१, शुक्रबार
blog

बिहीबार जिप दुर्घटना भएको क्षेत्र । फाइल तस्बिर

शैलेन्द्र रोकाया

बझाङ, कात्तिक ३ गते। बझाङमा सोमबार भएको जिप दुर्घटनाबाट दुई गाउँका ८ जनाको मृत्यु हुँदा मष्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। 

चार जिल्ला सदरमुकाममा लाग्ने शिलदेवी मेलाबाट फर्किएका जात्रुलाई सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्रीबाट बोकेर गएको जिप  बुधबार मष्टा गाउँपालिका- १ तुफानडाँडामा दुर्घटना भएको थियो। 

दुर्घटनामा दुई गाउँका सात जनाको घटनास्थलमा मृत्यु भएको थियो।  एक जनाको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको थियो। 

जिल्लाका सबै पालिकाकाले घाइतेको उपचार र मृतक परिवारजनलाई किरिया खर्च दिने भएका छन्। बिहीबार मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको समन्वयमा जिल्लाका सबै पालिकाका प्रमुखले दुर्घटनामा भएको ठूलो दुर्घटनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। 

मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भन्नुभयो, ‘विपत्तिको बेला जिल्लाका ११ वटा पालिकाबाट १९ लाख रुपियाँ सहयोग जुटेको छ।’ उहाँले आफ्नो पालिकाले मृतक परिवारलाई ५० हजार किरिया खर्च र घाइतेको उपचारका लागि बाहिरी जिल्ला पठाइएका व्यक्तिलाई २० हजार र यातायात खर्च दिएको बताउनुभयो।  

आठ जनाको मृत्यु भएको दुर्घटनाका १७ घाइतेमध्ये नौ जनालाई नेपालगञ्ज पठाइएको छ। अन्य सबै घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइराखेको छ। दुर्घटनाग्रस्त जिपमा जम्मा २५ जना सवार थिए। सडकको खराबी र क्षमता भन्दा दोब्बर सङ्ख्यामा यात्रु बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नयब उपरीक्षक जागेश्वर गौतमले बताउनुभयो। दुर्घटनाका सबै मृतकको पोष्टमार्टम भइसकेकाले शुक्रबार सामूहिक दाहसंस्कारको तयारी भएको उहाँको भनाइ छ।