• २२ वैशाख २०८१, शनिबार

एथलेटिक्समा आर्मीको दबदबा

blog

एथलेटिक्समा पदक विजेता आर्मीका खेलाडीहरु । तस्बिर : विकास द्वारे

प्रजित शाक्य

पोखरा, कात्तिक ३ गते । प्रमुख खेल मेलामा एथलेटिक्स स्वर्ण पदक कुम्ल्याउने खेलको रुपमा लिइन्छ । नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण, १३ रजत र १३ कांस्यसहित कुल ४५ पदक जितेर ट्रयाक एन्ड फिल्डमा आफ्नो वर्चस्व कायम  गरेको छ । 

यसैगरी, सशस्त्र प्रहरी बल (एपीएफ) दस स्वर्ण, दस रजत र दस कांस्यसहित कुल ३० पदक तथा नेपाल पुलिसले दुई स्वर्ण, सात रजत र छ कांस्य गरि कुल १५ पदक जिते । यी नतिजाबाट घरेलु एथलेटिक्समा विभागीय टिमको दबादबा प्रष्ट हुन्छ ।

धाविका सन्तोषी श्रेष्ठको प्रेरणामा बागमती प्रदेशले दुई स्वर्ण, एक रजत र चार कांस्य तथा लुम्बिनीले दुई स्वर्ण, चार रजत र एक कांस्य पदक जितेर विभागीय टिमलाई केही हदसम्म चुनौती दिएका दिए । सन्तोषीले दुई स्वर्ण र चार सय मिटर रिलेमा एक कांस्य पदक जित्नुभयो । 


अनिष थापाले म्याराथनमा जितेको स्वर्णसहित गण्डकीले एक स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्यो । कर्णालीले पनि एक स्वर्ण र एक रजत हासिल गर्यो । सुदूरपश्चिमले एक कांस्य जितेर एथलेटिक्सको पदक तालिकामा आफूला सामेल गरायो । प्रदेश १, मधेस प्रदेश र एनआरएनले भने ३७ इभेन्ट्स भएको एथलेटिक्समा पदकविहीन रहे ।

जयरानीको पाँचौँ स्वर्णमा भाग्यको साथ

जयरानी थारुले अन्तिम दिन पनि ४×४०० मिटर महिला रिलेमा आर्मी क्लबलाई स्वर्णपदक दिलाएर नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक पाँच स्वर्ण जित्नुभयो । उहाँ आफूले सहभागिता जनाएको सबै खेलमा च्याम्पियन बन्नुभएको हो । जयरानीले पाँचमध्ये तीन स्वर्ण पदक राष्ट्रिय कीर्तिमानसहित जित्नुभएको हो । 

उहाँले एक सय मिटर हर्डल्स, चार सय मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय  कीर्तिमान बनाउनुभएको हो । यसबाहेक उहाँले ४×१०० मिटर महिला रिलेमा पनि स्वर्णपदक जित्नुभएको थियो । एथलेटिक्सको नियमअनुसार एक खेलाडीले पाँच इभेन्टमा मात्र सहभागी हुन पाउँछ ।


जयरानीले हासिल गरेको पाँचौँ स्वर्णमा भने भाग्यको साथ रह्यो । रिलेमा दोस्रो ल्यापमा दौडिएकी एपीएफकी कल्पनाले लेन परिवर्तन गर्ने क्रममा गल्ती गरेपछि जयरानी सम्मिलित दोस्रो स्थानमा रहेको आर्मी स्वर्ण दकको हकदार बनेको हो । 

सो दौड सकिँदा एपीएफले सबभन्दा पहिलो दौड सकेको थियो । आर्मीका लागि अन्तिम ल्यापमा दौडिएकी जयरानी दौडपछि श्वासप्रश्वास समस्याले निकैबेर मैदानमै ढल्नुभएको थियो । जयरानी, सरस्वती भट्टराई, निर्मला थापा र कलेसी चौधरी सहभागी आर्मीको टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्यो । 

निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुले दौडेको लुम्बिनी प्रदेशले ४ मिनेट १४.८० सेकेन्डमा रजत तथा अन्जु खड्का, रजीना दुलाल, स्वागता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समयसहित कांस्य पदक जिते ।

४×४०० मिटर महिला रिलेमा आर्मी क्लब नै पहिलो भयो । एथलेटिक्सको सबभन्दा अन्तिम दौड आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दूरी ३ मिनेट १८.३६ सेकेन्डमा सबभन्दा पहिले पूरा गर्नुभयो । 

निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली सहभगी एपीएफको टिम निर्धारित दूरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार गरी दोस्रो भयो । पुलिसको टोलीले काँस्य पदक जित्यो । पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुले निर्धारित दूरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

पार्की दाजुभाइलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार दाजु गोपीचन्द्र पार्की र भाइ शिवराज पार्कीले स्वर्णपदक जित्नुभएको छ । एपीएफका गोपीचन्द्रले शुक्रबार भएको पहिलो इभेन्ट पाँच हजार मिटर दौड १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरी स्वर्ण दक जित्नुभयो । 

दौडअघि गोपी पाँच हजार मिटर दौडका प्रबल दावेदार हुनुहुन्थ्यो । दस हजार मिटर दौडमा दोस्रो स्थानमा रहेपछि आजको दौडअघि गोपीचन्द्र दबाबमा थियो । जुन उहाँले पनि स्वीकार्नुभयो । भाइले पनि केही दिनअघि एक सय मिटर जितेपछि मलाई फोन गरेर र प्रत्यक्ष भेटेर बधाई दिने धेरै आए । 


त्यसपछि दस हजार मिटर दौडमा पनि टिमको अपेक्षा पूरा गर्न नसकेपछि म दबाबमा थिएँ । तर पाँच हजार मेरो इभेन्ट हो र मलाई विश्वास थियो स्वर्ण जित्नेमा । गोपीले यस दूरीमा स्वर्णपदकको ह्याट्रिक गर्नुभएको हो । 

उहाँले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्णपदक जित्नुभएको थियो । सो दौडमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट र २९.९३ सेकेन्ड समय लगाएर रजत तथा त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट र ३६.६० सेकेन्डसहित कांस्य पदक हात पार्नुभयो ।

गोपीचन्द्रका भाई शिवराजले पुरुषको दुई सय मिटर दौडमा पनि स्वर्णपदक जित्नुभयो । एक सय मिटर दौड सबभन्दा चाँडै दौडेर आफूलाई देशकै सबभन्दा तेज व्यक्ति सावित गर्ने शिवराजले दुई समय मिटरको दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै गर्नुभयो । शिवरामले रिलेमा पनि स्वर्णपदक जित्नुभएको थियो । 

त्यसैले पनि शिवराज नवौँ राष्ट्रिय खेलकुदमा चम्किएका खेलाडीको रुपमा रहनुभएको छ । दुई समय मिटर दौडमा एपीएफकै आशिष चौधरी (२२.०५ सेकेन्ड) दोस्रो र आर्मीका युवराज विक (२२.५० सेकेन्ड) तेस्रो हुनुभयो । 

पाँच दाजुभाइमध्ये कान्छा शिवरामले दाइकै कारण एथलेटिक्समा होमिाएको बताउँदै दाइ गाेपीचन्द्रले जितेको स्वर्णले आफूलाई आज अझ बढी खुशी दिलाएको बताउनुभयो । ‘‘म दाइलाई धेरै माया गर्छु, दाइकै कारणले म यहाँ छु । त्यसैले पनि आफूले जितेको स्वर्णभन्दा दाइले जितेकोमा बढी खुशी लागेको छ,’’– शिवराज स्वर्ण जितेपछि भावुक बन्नुभयो ।

निशालाई पहिलो स्वर्ण

लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीलाई भविष्यका खेलाडीको रुपमा लिइएको छ । निशाले दुई सय मिटर दौडमा स्वर्ण जितेर आफूमाथिको भरोसालाई सही सावित गर्नुभयो ।

एक सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए पनि रजत पदकमा थन्किएकी निशाले दुई सय मिटर दौड २५.२४ सेकेन्डमा पूरा गर्नुुभयो । एपीएफकी रमिता कुमारी थारूले २५.९५ सेकेन्डसहित रजत तथा नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २७.५२ सेकेन्डमा दौडेर कांस्य पदक जित्नुभयो ।


निशाकी प्रशिक्षक पद्मा चौधरीले निशाले दुई महिनामात्र तयारी गरेर नवौँ राष्ट्रिय खेलकुदमा सहभागी भएको जानकारी दिनुभयो । राम्रो प्रशिक्षण मिलेमा निशा नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक दिलाउने खेलाडी हुनहुुन्छ ।

 शिला र डिल्ली ट्रिपलजम्पमा सफल

एपीएफ क्लबकी शिला चौधरी र आर्मीका डिल्ली खत्रीले ट्रिपल जम्पमा स्वर्णपदक हासिल गर्नुभयो । महिलामा शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्णपदक जित्नुभयो । नेपाल पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत तथा एपीएफकी रन्जिता राईले ९.९१ मिटर उफ्रेर कांस्य पदक जित्नुभयो । 


पुरुष ट्रिपल जम्पमा डिल्लीले १३.९५ मिटर हाम्फाल्नुभयो । पुलिसका चन्द्रदेव जोशी १३.५५ मिटर सहित रजत र बागमती प्रदेशका सुदीप महतो १३.४४ मिटर जम्प गर्दै कांस्य पदकको हकदार बन्नुभयो ।