• १७ असार २०८१, सोमबार

धान भित्र्याउन कृषकलाई हतारो

blog

थ्रेसरमा धान दाइँ गर्नका लागि मुठा पारेर खेतमा जम्मा गरेको धान । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर  पोख्रेल

देउखुरी, असोज ३ गते । दाङको लमही नगरपालिका –६ देउपुर निवासी विष्णु पौडेलले गतसाल धानबालीबाट घाटा बेहोर्नुभयो । काटेर खेतमा सुकाएको धान वर्षाका कारण खेतमै उम्रिने कुहिने समस्या भयो । गत सालजस्तै नहोस् भनेर वर्षाको त्रासमा उहाँले यसपालि हरियोमै धान काट्नुभयो । धान काटेर राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो । 

हतारमा उहाँले धान यसअघि स्याहार्नुभएको थिएन । यसपालि हतारमा धान स्याहार्नुपरेको उहाँको भनाइ छ । यस्तै, सोही ठाउँका रामबहादुर चौधरीले पनि राम्रोसँग धान पाक्न नपाउँदै काट्न सुरु गर्नुभएको छ । धान दाउने थ्रेसर मिलेसम्म काट्ने बित्तिकै दाना निकालेर भित्र्याउने योजनामा उहाँ हुनुहुन्छ । गढवा गाउँपालिका –६ बाँकीका पुरन चौधरीले बिहानैदेखि काटेको धान जम्मा गर्न व्यस्त हुनुहुन्छ । धान भित्र्याएपछि मात्रै तिहारको सरजाम जुटाउने योजना उहाँले सुनाउनुभयो ।  

अहिले दाङ–देउखुरी मात्रै नभएर अधिकांश स्थानमा किसानलाई धन भित्र्याउन भ्याइनभ्याई छ । सकेसम्म पानीबाट धान सुरक्षित गर्न पाए हुन्थ्यो भन्ने योजनामा किसानहरु हुनुहुन्छ । गतसाल धान स्याहार्ने समयमा परेको वर्षाले धानमा ठूलो क्षति पुगेपछि वर्षाको त्रासले काँचै बाली भित्र्याउन किसानहरु कस्सिएका हुन् । 

लमही –६ देउपुरका विष्णु पौडेलले भन्नुभयो, “गतसाल धान भिज्यो, धानमा ठूलो नोक्सानी बेहोर्नुपर्यो, अहिले समयमै भित्र्याउँ भनेर हतारो गरेका हौं ।” दशैंको मुखैमा परेको पानीले किसानलाई झन् त्रास दिएको छ । अविरल परेको पानीपछिको बाढी र डुबानले जोगिएको धान समयमै स्याहार्ने योजनामा रहेका किसानलाई काँचो बाली भित्र्याउँदा हुने क्षतिभन्दा वर्षातकाे चिन्ता छ । पानी परिहाल्यो भने धान कामै नलाग्ने हुन्छ, हप्ता दिनपछि काट्नुपर्ने धानलाई अघि काटेका छौं, गढवाका पुरन चौधरीले भन्नुभयो । 

कृषि विज्ञले भने धान काँचोमा काट्न हतारो नगर्न सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीले दाङ–देउखुरीमा धेरै प्रकारको धान लगाउने भएकाले पछि पाक्नेखालको धान बाहेक अन्य धान पाकिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँचोमा धान काट्न हतारो गर्नु त हुँदैन, वर्षा ढिलोगरी भएकाले धानको बाला पाकेको डाँठ हरियो देखिएको हुनसक्छ ।” काट्ने बित्तिकै धानको दाना निकाल्नु परेपछि पनि राम्रोसँग धान सुकाउन किसानलाई सुझाव दिनुभयो ।  

छिटोछरितो रुपमा धान भित्र्याउन किसानहरु धान दाइँ गर्नका लागि मेशिनको प्रयोग गर्न थालेका छन्  । बिहानैदेखि किसानहरु थ्रेसरको पछि लागेर चालकलाई आफ्नो धान झार्न आग्रह गर्नेगरेका छन् । धान जम्मा गरेर त्रिपालले ढाकेपछि किसानहरु थ्रेसर (धान झार्ने मेसिन) खोज्नतिर लाग्छन् । गाउँमा सीमित मात्रामा थ्रेसर हुने र धेरैको धान एकै पटक झार्नुपर्ने भएकाले थ्रेसरधनीलाई पनि भ्याइनभ्याई छ । लमही नगरपालिका –६ लङ्गडीका थ्रेसरधनी प्रितम चौधरीले तीन–चार गाउँबाट थ्रेसरको माग भए पनि सबै ठाउँमा पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिपछि काम नपाएर मेसिन ढाकेरै राख्नुपर्छ, यो कामको समयमा बिहानैबाट किसानहरु घरमै आएर पालो लगाउनुहुन्छ, थ्रेसर सीमित हुँदा समस्या भएको छ ।”