• २९ वैशाख २०८१, शनिबार

झुलाघाटमा इन्टरनेटको पहुँच

blog

बैतडी समाचारदाता

बैतडी, कात्तिक २ गते । अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पहिलो पटक इन्टरनेटको पहुँच पुगेको छ । भारतसँग सीमा जोडिएको झुलाघाटमा इन्टरनेटको पहुँच पुगेपछि झुलाघाट भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी बल नेपाल, झुलाघाट स्वास्थ्य चौकी र स्थानीय व्यापारीलाई सहज भएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि सीमा नाका झुलाघाटमा सोमबार इन्टरनेट विस्तार गरेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाले जानकारी दिनुभयो । इन्टरनेटको पहुँचबाट टाढा रहेको सीमा नाका झुलाघाटमा यसअघि भारतीय सीमा प्रयोग गरेर इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यता थियो । नेपाल टेलिकमको इन्टरनेटको पहुँच पुगेपछि निकै खुसी लागेको स्थानीय रघुवीरसिंह थापाले बताउनुभयो । 

अन्तर्राष्ट्रिय सीमा नाकामा इन्टरनेट जडानका लागि आवश्यक पहलकदमीपछि इन्टरनेट जडान भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, “झुलाघाटमा इन्टरनेट जडानका लागि प्रशासन कार्यालयलाई पटक–पटक लिखित र मौखिक गुनासो आउने गरेको थियो । इन्टरनेट जडानपछि झुलाघाट क्षेत्रमा रहेका सरकरी कार्यालयलाई सेवा प्रवाह गर्न सहज भएको छ ।” 

यसैबीच बर्सातका कारण बैतडीको तल्लोस्वराड क्षेत्रमा अवरुद्ध भएको नेपाल टेलिकमको सेवा सुचारु गर्न सोमबार धनगढीबाट प्राविधिक टोली बैतडी आइपुगेको नेपाल टेलिकम बैतडीले जनाएको छ । बैतडीको तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएपछि यहाँका अधिकांश मानिसले भारतीय सीमा प्रयोग गर्न बाध्य भएको पञ्चेश्वरका स्थानीय लोकेन्द्र घटालले जानकारी दिनुभयो ।