• १६ वैशाख २०८१, आइतबार

महिला क्रिकेटको स्वर्ण पुलिसको पोल्टामा

blog

उपाधि विजेता पुलिस टिम । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक १ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पाँच रनले हरायो । 

रोमाञ्चक खेलमा पुलिसको महिला टिमले राष्ट्रिय खेलकुदमा आफ्नो पदार्पणमा नै उपाधि जित्ने गौरव हासिल गरेको हो । नवौँ राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटको उपाधि पनि नेपाल पुलिसले नै जितेको थियो । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनको एक महिनाअघि नै  काठमाडौँमा पुरुष क्रिकेट सम्पन्न गरिएको थियो ।

नेपाल टी–२० क्रिकेट लिगको समय जुधेको भन्दै काठमाडौँमा पहिले नै पुरुष क्रिकेटको आयोजना भएको हो । जसमा उपाधि जितेर नेपाल प्रहरी नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने टिम बनेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले चार विकेटको क्षतिमा ८९ रनको ठिकठाक स्कोर तयार पारेको थियो । एपीएफले जवाफमा सात विकेटको क्षतिमा ८४ रन मात्र बनाउनसक्यो ।

एपीएफलाई अन्तिम दुई ओभरमा १८ रन आवश्यक थियो । तर खेल जिताउने जिम्मेवारी बोकेकी रोमा थापा अप्सरी बेगमको सीधै थ्रोमा रनआउट भएपछि पुलिसको जितको ढोका खुल्यो । 

रोमाले १९ बलमा दुई चौकासहित २६ रन बनाउनुभयो । एपीएफका लागि रोमाबोहक राजमती ऐरी (अविजित १२ रन)ले मात्र दोहोरो अङ्क मा रन बनाउन सक्नुभयो । पुलिसका लागि ईश्वरी विष्टले दुई तथा रुविना क्षेत्री, हिरन्मयी रोय र सड्गिता राईले एक एक विकेट लिनुभयो । इक्वरी नै फाइनलकी सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो ।

यसअघि, पुलिसकी प्रारम्भिक ब्याटर काजल श्रेष्ठले ५५ बलको सामना गरी २७ रन बनाउनुभएको थियो । सम्झना खड्काले २१, कविता कुवरले ११ र कविता जोशीले आउट नभईकन १३ रनको उपयोगी पालि खेल्नुभयो । एपीएफका लागि नेरी थापा, इन्दु वर्मा र सीता राना मगरले एक–एक विकेट लिनुभयो । 

नेरी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । नेरीले प्रतियोगितामा छ खेलमा एघार विकेट लिनुभएको थियो । पुलिस क्लबकी कप्तान रुविनाले दशैको समयमा पनि अभ्यास नछोडेको र सोही मिहिनेतले आफ्नो टिम भएपनि च्याम्पियन बनेको भनाई राख्नुभयो ।