• १९ असोज २०८१, शनिबार

कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

blog

काठमाडौं, कात्तिक १ गते । नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्य समेत रहनुभएका कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले संयोजकसहित सात  वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘केन्द्रीय निर्वाचन परिचालन समिति छ । त्यहीँ समितिको बैठक बसेको हो । त्यो बैठकमा करिब २१ जनाले आ–आफ्ना सुझावहरू दिनुभयो । त्यही सुझावको आधारमा काम गर्छौँ । खासगरी सात वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ । त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ । त्यसपछि विभिन्न निर्वाचन क्षेत्र भित्र कसरी काम गर्ने भन्ने छ ।’’

बैठकमा समितिका सदस्यहरूले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए ।

उहाँले भन्नुभयो, ‘‘त्यस्तै नेपाली कांग्रेस अहिले गठबन्धनमा छ । गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौँ । त्यसले गर्दा समानुपातिकमा भोट घटन सक्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? यी सब कुराहरूमा छलफल गरियो । अब जति पनि सुझावहरू आएका छन् । ती सबै सुझावहरूलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौँ ।’’

त्यसैगरी, बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरूबाट आएको नेता ढुङ्गानाले बताउनुभयो ।

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।