• २ माघ २०८१, बुधबार

स्तन क्यान्सर सचेतना महिना

क्यान्सर जति छिटो पत्ता लाग्यो त्यत्तिकै छिटो निको हुन्छ

blog

काठमाडौं, कात्तिक १ गते । शरीर लाखौँ कोषिका मिलेर बनेको हुन्छ। चिकित्सकका अनुसार शरीरमा भएका कोषिका अनियन्त्रित र विभाजित भएपछि क्यान्सर हुने गर्दछ। क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले स्तन क्यान्सरका कोषिका अनियन्त्रित भएर विभाजन भएमा स्तन क्यान्सर हुने बताउनुहुन्छ।  

अहिलेसम्म अध्ययन अनुसन्धानले यही कारणले स्तन क्यान्सर हुन्छ भनेर पत्ता लागेको छैन। वंशाणुगत, खराब जीवनशैली, ढिला बच्चा जन्माउने, बच्चालाई स्तनपान नगराउने महिला, महिनावारी रोकिएका महिलामा स्तनपान हुने जोखिम बढी हुने डा. शाही बताउनुहुन्छ। 

नेपालमा महिलालाई हुने पाठेघर पछि स्तन क्यान्सर बढी देखिने गर्छ भने विश्वमा महिलामा स्तन क्यान्सर सबैभन्दा बढीमा देखिने गर्छ। अध्ययनका अनुसार आठ जना महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुन्छ।  प्रत्येक दिन छ जना स्तन क्यान्सरका बिरामी पत्ता लाग्ने गर्दछन्। तीन जनाको मृत्यु भएको पाइएको छ। 

नेपालमा ५० वर्ष माथिका महिलालाई बढी स्तन क्यान्सर हुने अध्ययनले देखाएको छ। नेपालमा करिब ५० हजार महिलालाई स्तन क्यान्सर भएको अनुमान गरिएको छ। स्तन क्यान्सर महिलालाई मात्र नभई पुरुषलाई पनि हुने डा.शाही बताउनुहुन्छ। शाहीका अनुसार सय जना महिलामा क्यान्सर देखिएमा एकजना पुरुषमा स्तन क्यान्सर हुन्छ। 

स्तन क्यान्सरको लक्षण समयमै थाहा पाउन सकेमा उपचार गरेर निको बनाउन सकिन्छ। तर, नेपालमा ढिला गरेरमात्र क्यान्सरका बिरामी अस्पताल आउने हुँदा उपचारमा समय लाग्ने उहाँले जानकारी दिनुभयो। 

जति छिटो रोग पत्ता लगाउन सक्यो त्यत्तिकै छिटो निको बनाउन सकिन्छ। नेपालमा भने सबैभन्दा बढी बिरामी स्टेज तीनमा आउने गर्दछन् भने पाँच प्रतिशत बिरामी मात्र स्टेज एकमा आउने गर्दछन्। 

सुरुको अवस्थामा पत्ता लगाएमा शल्यक्रिया गरेर ट्युमर निकाल्न सकिन्छ। स्तन क्यान्सर भए नभएको महिनावारी भएको पाँच दिनमा आफैले जाँज गर्दा पनि गिर्खा आए नआएको पत्ता लगाउन सकिने चिकित्सक बत्ताउँछन्। 

यदि शङ्का गरेर अस्पतालमा गएपछि भिडियो एक्सरे वा मेमोग्राम गरेर क्यान्सर पत्ता लगाउन सकिन्छ। ढिला गरेर अस्पताल आएमा सबै प्रकारको उपचार आवश्यक पर्ने डा.शाही बताउनुहुन्छ । जोखिमको कारण पत्ता लगाउने र जोखिमको कारणबाट टाढै बस्ने र बेलाबेलामा आफूलाई रोग लागे÷नलागेको बेलामा जाँच गर्दा क्यान्सर लागे नलागेको पत्ता लगाउन सकिन्छ। 

स्तन क्यान्सरलाई सुरुवाती अवस्थामै पत्ता लगाउने र उपचार गरेर स्तन क्यान्सरबाट हुने मृत्युदरलाई घटाउने उद्देश्यले अक्टुवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउने गरिन्छ। क्यान्सर सचेतना महिनाको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीसँग कुराकानीको आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री : 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।