• १३ असोज २०८१, आइतबार

मुख्यमन्त्रीसहित आठ मन्त्री चुनावी प्रतिस्पर्धामा

blog

राममणि दाहाल 

हेटौँडा, असोज ३० गते । प्रदेश र सङ्घीयताको औचित्यमाथि कतिपयले प्रश्न उठाइरहेको समयमा बागमती प्रदेश सभा सदस्य हुँदै हाल मन्त्री कायम रहेकाहरू पुनः प्रदेश सभा सदस्य हुने आकाङ्क्षासहित चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशका वर्तमान र पूर्वमन्त्रीहरू कतिपय प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ त कतिपय प्रदेश सभा सदस्यमा दोहोरिन चुनावी मैदानमा हुनुहुन्छ।

बागमती प्रदेशको १८ सदस्यीय मन्त्रिपरिषद् सदस्यमध्ये मुख्यमन्त्रीसहित आठ जना सत्ता गठबन्धनका दलबाट उम्मेदवार बन्नुभएको छ। 

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित पाँच सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मुख्यमन्त्रीसहित तीन जना मन्त्री उम्मेदवार रहनुभएको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रदेश सभा छाडेर नेकपा एकीकृत समाजवादीको तर्फबाट धादिङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ।

एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रहनुभएका कृष्णप्रसाद शर्मा खनाल चितवन १ को (ख) बाट र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर काठमाडौँ क्षेत्र नं. ७ को (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ। उता एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाइँ काभ्रेबाट प्रदेश सभा सदस्यमा पार्टीबाट उम्मेदवारी दिनुभएकोमा पछि गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुभएको थियो।

यस्तै मन्त्रिपरिषदमा पाँच मन्त्री रहेको नेकपा माओवादी केन्द्रका पाँचमध्ये चार जना मन्त्रीले प्रदेश सभा सदस्यमा पार्टीबाट उम्मेदवारी पाउनुभएको छ।

आर्थिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल धादिङ क्षेत्र नं. १ को (ख) बाट, सामाजिक विकासमन्त्री कुमारी मुक्तान मकवानपुरको क्षेत्र नं. २ को (क) बाट, श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल चितवन २ को (क) बाट र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल काभ्रे १ को (क) बाट माओवादी केन्द्र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुभएको हो। प्रदेशमा सबैभन्दा बढी आठ जना मन्त्री रहेको नेपाली कांग्रेसको एक जनामात्र प्रदेश सभा सदस्यमा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

कांग्रेसका मन्त्रीहरूमध्ये प्रत्यक्षमा प्रतिस्पर्धा गर्न अवसर पाउनुभएका एक्ला मन्त्री संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ काठमाडौँ १ को (क) बाट उम्मेदवार रहनुभएको छ।

गत उपनिर्वाचनमा भक्तपुरबाट विजयी भएर भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएका कृष्णलाल भडेल र सिन्धुपाल्चोकबाट यसअघि निर्वाचित स्वास्थ्यमन्त्री निमा लामा यो पटक उम्मेदवारीबाट वञ्चित हुनुभएको छ। दुवै जना कांग्रेसबाट निर्वाचित हुनुभएको थियो।

वन तथा वातावरणमन्त्री विशाल खड्का माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा दोलखाबाट सिफारिसमा परे पनि टिकट पाउनुभएन। 

कांग्रेसबाट मन्त्री बन्नुभएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल (चितवन), उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ (चितवन), भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ (मकवानपुर), उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे (भक्तपुर) र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली (नुवाकोट) उम्मेदवार रहनुभएको छैन।

एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री बन्नुभएका सिन्धुपाल्चोकका इन्द्रमाया गुरुङले समेत पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी पाउनुभएको छैन।

यसैबीच प्रदेशका दुवै मुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा हुनुहुन्न। पौडेलले उम्मेदवार नबन्ने बताउनुभएको थियो भने शाक्यले नाम सिफारिस भएर पनि उम्मेदवार नबन्ने घोषणासहित उम्मेदवारी अस्वीकार गर्नुभएको थियो। 

प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ एमालेबाट काठमाडौँ २ को (क) मा र निवर्तमान उपसभामुख राधिका तामाङ नुवाकोट १ को (क) मा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा उल्लेख छ।

यस्तै प्रदेशका पूर्वमन्त्रीहरूसमेत चुनावी दौडमा हुनुहुन्छ । पूर्वमन्त्रीहरू कैलाशप्रसाद ढुङ्गेल रामेछाप, प्रदीपकुमार कटुवाल क्षेत्री सिन्धुली क्षेत्र नं. १ मा र सरेस नेपाल सिन्धुपाल्चोक १ मा प्रतिनिधि सभा सदस्यमा तथा युवराज दुलाल सिन्धुपाल्चोकमा, केशवराज पाण्डे नुवाकोटमा, रामेश्वर फुयाल काठमाडौँमा, शान्तिप्रसाद पौडेल रामेछापमा र चन्द्रबहादुर लामा काभ्रे १ को (ख) मा प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ। 

यसैगरी पूर्वराज्यमन्त्रीद्वय बद्री मैनाली नुवाकोट १ मा प्रतिनिधि सभा सदस्यमा र डा. रामकुमार अधिकारी धादिङ २ को (क) मा प्रदेश सभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहनुभएको छ। पूर्वमन्त्रीहरूबाट दुलाल माओवादी केन्द्रबाट र बाँकी सबै नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको हो।