• १३ असोज २०८१, आइतबार

अब वडाबाट नै राष्ट्रिय परिचयपत्र

blog

धादिङ समाचारदाता

धादिङ, असोज ३० गते । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थालेको छ। विभागले गल्छी गाउँपालिकाका वडाहरूबाट यस अभियानको सुरुवात गरेको हो। 

गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीहरूको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फारम भर्ने लक्ष्य लिएको जानकारी गराएको छ। शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका १०४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सुरुवात गरिएको छ। 

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा भएको र १३ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको जनाएको छ। छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्णप्रसाद पौडेलले बताउनुभयो।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाम लाग्नुपर्ने समस्या समाधान हुनेछ। नागरिकता, राहदानी, जग्गाधनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्र सरकारले एकीकृत गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो।

हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने भएको छ। स्थानीय जनप्रतिनिधिहरूले अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन्। सरकारले राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ तर आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौँमा पनि व्यवस्था गरेको छ। राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरिने व्यवस्था छ।