• २० वैशाख २०८१, बिहिबार

पौडीमा नासिरलाई कीर्तिमान सहित स्वर्ण

blog

पौडीमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, असोज २९ गते । नेपाली सेनाका नासिर याह्या हुसेनले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको २२ औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको छ ।

नासिरले शनिबार १५ सय मिटर फ्रिस्टाइलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । 

यसका साथै उहाँले नवौँ राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जित्नुभएको छ । दोस्रो हुनुभएका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एसियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिन्नुभयो । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गर्नुभएको थियो । पुलिसका सुनिल कुमार थापाले कांस्य जित्नुभयो ।  

यसैगरी महिलामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभयो । दुई सय मिटर व्यक्तिगत मिडिलेतर्फ गौरिका सिंहले नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछि पार्दै लामाले २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गर्नुभयो । यो उहाँले हिट चरणमा कायम गर्नुभएको हो ।