• १२ मंसिर २०८१, बुधबार

आयोगद्वारा निर्वाचन चिह्न हेरफेर

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौं, असोज २९ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले  शनिबार विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिनुभयो ।

आयोगले हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो, स्वतन्त्र उम्मेदवारको डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा हेरफेर गरेको हो ।  विज्ञप्तिमा लेखिएको छ, ‘‘निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची-३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा समेत हेरफेर गरिएको छ ।’’


आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो ।

आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको जानकारी सहायक प्रवक्ता भट्टराईले दिनुभयो । उहाँले हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेब साइटमा राखिएकोे बताउनुभयो ।