• १३ साउन २०८१, आइतबार

‘सञ्चारमाध्यमले दल, उम्मेदवार र नागरिकबीच समन्वयको काम गर्नुपर्छ’

blog

पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

रमेश पौडेल

पोखरा, असोज २९ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आमसञ्चार माध्यमले निर्वाचन आयोग, राजनीतिक पार्टी, उम्मेदवार र नागरिकबीच समन्वयनको रूपमा काम गर्नुपर्ने बताउनुभएको छ। 

नेपाल टेलिभिजनद्वारा आयोजित संवाददाताको लागि निर्वाचन रिपोर्टिङ लक्षित कार्यक्रमलाई पोखरामा शनिबार उद्घाटन गर्दै थपलियाले सो कुरा बताउनुभएको हो। उहाँले लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकारले पत्रकारिताको मूल्य, मान्यता र व्यावसायिकतालाई ख्याल गरी सूचना प्रदायक भूमिकामा रहन आग्रहसमेत गर्नुभयो। उहाँले दलीय प्रणालीमा दलहरूको भूमिकालाई गौण रूपमा लिन नहुने बताउँदै उम्मेदवारलाई समान दृष्टिकोणमा स्थान दिन सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुभयो। 

निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको अवस्थामा सघन तयारीतर्फ अगाडि बढेको उहाँको भनाइ थियो। अहिलेसम्मको अवस्थामा सरकार, सञ्चारमाध्यम र दलहरूको भूमिका प्रफुल्लित भएको समेत उहाँले बताउनुभयो। 

जनतामा निहित सार्वभौम सत्ता पैसामा खरिद बिक्री हुने विगतको प्रचलनलाई आयोगले कडाइका साथ नियमन गरेर त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न पछाडि नपर्ने उल्लेख गर्दै उहाँले रुपैयाँ र पैसामा कहिले पनि आस्था बिक्री हुनु नहुने बताउनुभयो। उहाँले त्यस्ता उम्मेदवारलाई नागरिकले नै मतदानमार्फत परास्त गरी नागरिक आस्था स्थापित हुने विश्वाससमेत राख्नुभयो।

नेपालको कुल मतदाता एक करोड ७९ लाखमध्ये ४५ लाख मतदाता देश बाहिर रहेको अनुमान गर्दै उहाँले थप्नुभयो, ‘एक करोड ३४ लाख मतदातामध्ये १ करोड ३२ लाख मतदाताले मतदान गर्न सक्ने अवस्थामा मिडियाले सहयोग गर्नुपर्छ।’ 

पछिल्लो समय सूचना प्रविधिले केही चुनौती थपिए पनि फेसबुक, ट्विटर, टिकटिक लगायतसँग  आयोगको निरन्तर संवाद र सम्झौता भएको जानकारी दिनुभयो। उहाँले आयोगले आइटी विज्ञ राखेर त्यस माथिसमेत आवश्यक छानबिन र कारबाही गर्ने स्पष्ट पार्नुभयो। 

सामाजिक सञ्जालको नाममा कुनै पनि दल, कार्यकर्ता तथा कर्मचारीले समेत आचारसंहिताभन्दा बाहिर गरेर काम गरेमा स्थानीय प्रशासनले नै निगरानी गरी आयोगसम्म ल्याईपुर्‍याउने अधिकार दिइएको उहाँको भनाइ छ। 

उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो। यस्तै, उहाँले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुभयो। 

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सत्य, तथ्य र निष्पक्ष समाचारले मात्रै सञ्चारमाध्यम र व्यावसायिक पत्रकारिता स्थापित हुने बताउँदै नेपाल टेलिभिजन भरपर्दो सञ्चारमाध्यम भएको उल्लेख गर्नुभयो।

नेपाल टेलिभिजनका अध्यक्ष समीरजंग शाहले नेपाल टेलिभिजनले नागरिक पत्रकारितालाई सधैँ आत्मसात् गर्दै आएको दाबी गर्नुभयो। 

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ, नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाका अध्यक्ष दीपकजंग हमाल, नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक निराजन खनाल लगायतले नेपाल टेलिभिजनको समाचार र विश्वसनीयताको बारेमा बोल्नुभएको थियो।