• २० असोज २०८१, आइतबार

स्थानीय तहसम्म विश्व खाद्य दिवस मनाइँदै

blog

काठमाडौँ, असोज २८ गते । हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि ‘उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाउँदै आएको छ । कृषि विभागलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले शुक्रबार विभिन्न कार्यक्रम गरी सो दिवस मनाउँदै छन् ।

४२औँ विश्व खाद्य दिवसको अवसर पारेर खाद्यका लागि कृषि अभियानलगायत विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारलाई खानाका लागि खेतीपाती गर्न ध्यानाकर्षण गराएका छन् । सम्पूर्ण स्थानीय तहलाई सो ध्यानाकर्षण पत्र पठाइएको अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो । 

खाद्य दिवसको अवसर पारेर स्थानीय तहलाई ध्यानाकर्षण गराउँदै अभियानले स्थानीय तहलाई खाना, खेतीपाती र जनस्वास्थ्यका सवालमा ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

विश्व खाद्य दिवसको अवसरमा तीनै तहमा कृषि, खाना र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिने भएको छ । अभियानले ध्यानाकर्षण पत्रमार्फत सम्पूर्ण स्थानीय तहलाई विश्व खाद्य दिवसका अवसरमा गरिने कार्यक्रममा सहभागी हुन आह्वान पनि गरेको छ ।

मानिस मात्रका कारण प्रकृतिमा व्यापक फेरबदल आएको र यसले बहुसङ्ख्यक जीवनयापनका आयाममा सङ्कट थप्दै लगेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभाबी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक भएकाले समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । 

अभियानले किसानको आलीदेखि चुलोसम्म देखेका समस्या स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न ध्यानाकर्षण गराएको हो । संयुक्त राष्ट्रसङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओद्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो । १९७९ नोभेम्बरमा भएको २०औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिइएको हो ।