• १७ असार २०८१, सोमबार

धानबालीमा विभिन्न रोग र कीराको प्रकोप

blog

                

मीना कँडेल

कावासोती, असोज २७ गते । पूर्वी नवलपरासीमा धानबालीमा विभिन्न किसिमका रोग र कीराको प्रकोप देखिएको छ । किसानले लगाएका धान बालीमा विभिन्न रोग र कीराले बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् । 

बर्खाभरि मिहिनेत र लगानी गरी लगाएको धानबालीमा विभिन्न रोग र कीरोको प्रकोप बढेपछि नवलपुरका अधिकांश कृषकहरू अहिले चिन्तित बनेका छन् । बाली पाक्ने र धान भित्र्याउने बेला रोगले बालीमा नोक्सानी गरेपछि उत्पादनमा कमी आउने भन्दै आफूहरूलाई चिन्ताले पिरोलिएको कावासोतीका विष्णुकुमारी सुनार बताउनुहुन्छ ।

जिल्लामा जरा कुहिने, पातको फेद डडुवा (शिथ ब्लाइट), गवारो र सेतो झिँगाको (ह्वाइट फ्लाई) प्रकोप देखिएको छ । सेतो झिँगाले धानको पात चुसेर पहेँलो बनाउने समस्या देखिएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट सुस्ता ) पूर्व नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । 

जिल्लाको राजमार्ग आसपासका क्षेत्रहरू गैँडाकोटदेखि मध्यविन्दु नगरपालिकासम्मका धान खेतीमा सेतो झिँगाको समस्या देखिएको उहाँले बताउनुभयो । खाद्य तत्त्वको कमी तथा हाइब्रिड धानमा मलको कमीले पनि धानमा समस्या देखिएको हुनसक्ने र यकिन रूपमा कति क्षेत्रफलमा यस्तो समस्या रहेको छ भनेर तथ्याङ्क नआएको भए पनि जिल्लाको सबै जसो क्षेत्रमा सेतो झिंगाकोे समस्या देखिएको उहाँको भनाइ छ ।

अहिले धानबालीमा ठाउँ हेरी हेरी समस्या फरक फरक रहेको छ । धानको जात पनि फरक फरक छ’ उहाँले भन्नुभयो । धान बालीमा हरेक वर्ष विभिन्न किसिमका रोग कीराको समस्या देखिएपछि कीरा देखिएका क्षेत्रमा अनुगमन गरी विषादी सिफारिस गरिएको छ । कीराको कारणले धान पहेँलो भएको बेला किसानले मल नपुगेर यस्तो भयो भन्ने ठानी युरिया मल हाल्दा समस्या झन् थपिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको छ । जिल्लाको कावासोतीमा मात्रै २४१ भन्दा धेरै कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएको छ । रोग लागेर पात रातो हुने तथा बोट मर्ने गरेको कावासोती ८ का मीन शर्मा बताउनुहुन्छ ।

गवारो धानको महत्त्वपूर्ण पिराहा कीरा हो । विभिन्न प्रकारका गवारो कीराहरू मध्ये पहेँलो र सेतो गवारोले धानबालीमा मात्र नोक्सान गर्दछन् भने गुलाबी गबारो र धर्के गबारोले अन्य बालीहरूमा पनि नोक्सान गर्दछन् । बर्सेनि यी किराहरूबाट करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको अनुमान छ ।

जिल्लामा प्रमुख बालीका रूपमा लगाइने धान खेती नवलपुरको गैँडाकोट, देवचुली, मध्यविन्दु, कावासोती, विनयी त्रिवेणी, हुप्सेकोटलगायतका क्षेत्रमा धेरै धान खेती लगाउने गरिन्छ । नवलपुरमा करिब १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।


लेखक बाट थप