• १७ असार २०८१, सोमबार

मौसम खुलेपछि किसान धान काट्न खेतमा

blog

दाङको लमही नगरपालिका ५ लमहीमा धान काट्दै गरेका किसान । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज २७ गते । लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई  धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको हो ।  

अहिले अरु काम छाडेर धान भित्र्याउने काममा लागेको किसानहरु बताउँछन् । लमही नगरपालिका वडा ५ लमहीका पुन्टेश्वर चौधरीले धान पाकिसकेकोले मौसम खुलेपछि अरु काम थाती राखेर धान काट्ने काममा लागेको बताउनुभयो । धान काट्दै गरेका किसानमा फेरि पानी पर्ने हो कि भन्ने त्रास भने कायमै छ । 

वर्षभरिको खेतीलाई स्याहार्न नपाइ पुनः पानी पर्ने हो कि भन्ने चिन्ता यथावत् रहेको बताउँदै किसानले आकाशे पानीको फाइदा र बेफाइदा दुवै रहेको बताउनुभयो । खेतमा धान काट्दै आकाशतिर ध्यान लगाउनुपरेको उहाँहरुको भनाइ छ । राप्ती गाउँपालिका –१ पाखापानीका लोकराज पौडेलले आकाश सफा देखेर धान काट्न शुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब फेरि पनि पानी पर्ने हो भने बचेको धान रहन्न, धान काट्दै गर्दा धानको अम्छो (मुठी) सँगै आँखा आकाशमा छन ।’ लामो समयदेखि परेको अविरल वर्षाले दाङ–देउखुरी नदी तटीय क्षेत्रमा बाढी र डुबानले धान खेतीमा क्षति पुर्‍याएको छ । धान पुरेर बलौटे माटोले ढाकेको छ । अग्लो र उँचो स्थानको खेतमा पनि धान ढलेपछि बोटमै कुहिने र उम्रिने गरेको किसानहरुको भनाइ छ । 

बाढी र डुबानले धानखेतीमा पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन । गढवा गाउँपालिका कृषि शाखा प्रमुख कर्ताराम यादवले क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।