• २० असोज २०८१, आइतबार

एकीकृत जाँचचौकीबाट सामान आयात

blog

काठमाडौँ, असोज २७ गते ।  विराटनगर एकीकृत जाँचचौकी (आईसीपी)बाट सामान आयात हुने भएको छ । यसअघि भन्सार नाकाबाट सामान आयात हुँदै गरेकामा अब आईसीपीबाट आयात हुने जनाएको छ ।  

भारतीय भन्सार कार्यालयले सूचना निकालेर आगामी असोज ३० गतेदेखि एकीकृत जाँचचौकी प्रयोग गरेर मात्रै सामान आयात गर्ने भनेको छ । दुई वर्षअघि आईसीपी निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन ।

बु्धबारेदेखि एलसीएस पोर्ट कोडमा सिपिङ बिल र बिल अफ इन्ट्रीको दर्ता बन्द गरिने भारतीय भन्सार कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । भारतीय भन्सार कार्यलयले जारी गरेको सूचनाअनुसार नेपाली आयातकर्ता तथा व्यवसायीले असोज ३० गतेदेखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयात निर्यात आईसीपीबाट गर्नुपर्ने भनिएको छ ।

नेपालतर्फ डस्टी कार्गो व्यवस्थापनको उचित स्थानको अभाव र भारतीय पक्षले यसअघि भएको सहमतिअनुसार रक्सौल रेलवे साइडिङदेखि आईसीपी मेन रोडसम्मको सडक बनाइनसकेकाले आईसीपीबाट सामान ल्याउन कठिन हुने आयातकर्ता बताउँछन् ।

व्यापारविज्ञ रविशङ्कर सैँजूले आईसीपीबाट सामान आयात गर्दा व्यापार सहज हुने बताउनुभयो । “आईसीपी निर्माण भए पनि भन्सारबाट सामान आयात हुने गरेको थियो, एकद्वार प्रणालीबाट सामान आउँदा छिटो र सहज हुन्छ,” सैँजूले भन्नुभयो । आईसीपीमा गोदाम, चेकजाँचलगायतका सबै सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।  फ्रेड फरवार्ड एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले आईसीपीबाट सामान आयात गर्दा व्यवसायीलाई कुनै समस्या नहुने बताउनुभयो । भन्सारबाट सामान ल्याउने गरेकामा सुरुसुरुमा व्यवसायीलाई झन्झट भए पनि बिस्तारै बानी पर्ने उहाँले जानकारी दिनुभयो ।  

व्यवसायीका अनुसार नेपालका लागि रक्सौल यार्डमा महिनामा ४० देखि ५० -याक डस्टी कार्गो अर्थात् औद्योगिक कच्चा पदार्थ आउने गरेको छ । 

सडक यातायातको माध्यमबाट हुने व्यापार सहजीकरणका लागि नेपाल र भारत दुवैतर्फ आईसीपी सञ्चालनमा छ तर केही औद्योगिक कच्चा पदार्थ, कार, जिपलगायत साना सवारीसाधन र पैदल यात्रुको भने पुरानै वीरगञ्ज–रक्सौल नाकाबाट आवतजावत हुन्छ । २०२२ जुलाई १ देखि नै रक्सौल ल्यान्ड कस्टम (एलसीएस) हुँदै सामान निर्यातमा रोक लगाउने सूचना भारतीय पक्षले जारी गरेको थियो । रक्सौल रेलवे साइडिङमा अनलोड भएका सामान वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुल हुँदै आउने गरेकामा आईसीपी हुँदै ल्याउन भनिएको थियो ।