• ११ असोज २०८१, शुक्रबार

कोरिया जान छाडेर गाउँमै कृषि

वार्षिक २० लाख रुपियाँभन्दा बढी बचत

blog

खुर्सानी बारीमा काम गर्नुहुँदै भुवन खरालका बुवा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज २७ गते । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका २९ वर्षीय भुवन खराल । उहाँ गाउँमा व्यावसायिक कृषिबाट मनग्गे आम्दानी गरेर गाउँमा होइन, जिल्लामै चर्चाको पात्र बन्नुभएको छ । 

गुल्मी छत्रकोट गाउँपालिका–१, हुँगाका खराल कोरियाका लागि नाम निकालेर रोजगारीमा जान ठिक्क पर्नुभएको थियो तर उहाँ रोकिनुभयो । विदेशमा गएर पसिना बगाउनुभन्दा देशमै केही गर्नुपर्छ भन्ने कुरा उहाँको दिमागमा एकाएक आयो । कोरिया जाने निर्णयबाट पछाडि हट्नुभयो । 

कोरियाबाट फर्केकाले पनि त्यहाँ कडा मेहनत गर्नुपर्छ अनि मात्र कमाइ हुन्छ भन्ने सुनाएका थिए । त्यो सुनेर बरु नेपालमै त्यति मेहनत गर्छु भन्ने लागेर नै यस क्षेत्रमा लागेको उहाँले बताउनुभयो । कोरिया जान लाग्ने खर्च उहाँले कृषि व्यवसायमा लगाउनुभयो र आज महिनाको लाखौँ रुपियाँ कमाइरहनुभएको छ ।

उहाँले कोरियामा कमाउनेजति रकम आफ्नै गाउँमा कमाइरहनुभएको छ । उहाँ कोरिया जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ विगत छ वर्षदेखि रेसुङ्गा कृषि फार्म दर्ता गरी कृषि पेसामा होमिनुभएको छ ।

शिक्षा शास्त्रमा स्नातक पास गर्नुभएका खरालले अहिले पाल्पाको अर्गलीमा चार सय रोपनी र हुँगामा झन्डै एक सय रोपनी गरेर करिब पाँच सय रोपनी जग्गामा व्यावसायिक खेती गरिरहनुभएको छ ।  

उहाँको बारीमा अहिले काउली, बन्दा, टमाटर, खुर्सानी, मूला लटरम्म छन् । उहाँले त्यसबाट वार्षिक २० लाख रुपियाँभन्दा बढी बचत गरिरहनुभएको छ । विदेशमा गएर युवाशक्ति खर्चिनुभन्दा देशकै माटोमा सुन फलाउन सकिने र आफैँले उत्पादन गरेको हरियो र ताजा तरकारी खानुको बेग्लै मज्जा भएको खराल बताउनुहुन्छ । 

उहाँले अहिले २० जनालाई रोजगारी दिने गरेको बताउँदै आवश्यक परेमा दैनिक ज्यालादारीमा समेत काममा लगाउने गरेको बताउनुभयो ।  

कामदारको अभाव

खरालले अहिले व्यावसायिक रूपमा काम गर्ने कामदारको समस्या भएको बताउनुभएको छ । गाउँमा व्यावसायिक रूपमा काम गर्नेभन्दा पनि परम्परागत रूपमा काम गर्ने चलन अझै कायम रहेकाले कामदारको समस्या भएको छ । 

राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्ने भन्दै  त्यसतर्फ राज्यको ध्यान जानु आवश्यक भएको बताउनुभयो ।

खरालले उत्पादन गरेको कृषिउपज सबै पैँचो पसलले खरिद गरिदिने गरेको बताउनुभयो । आफूले उत्पादन गरेका कृषिउपज सबै खरिद गर्नेगरी पैँचो पसलसँग सम्झौता गरेको भन्दै उत्पादन गर्नसके बजारको कुनै समस्या नभएको बताउनुभयो । यति मात्रै नभई पैँचोले प्राविधिकसमेत व्यवस्था गरिदिएकाले तरकारीबालीमा लाग्ने रोगको कुनै समस्या नभएको बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले ज्ञान केन्द्रले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले खराललाई करार खेतीअन्र्तगत अनुदान प्रदान गरेको बताउँदै काम गर्ने युवा र कृषकका साथमा सधैँ ज्ञान केन्द्र रहेको बताउनुभयो ।