• १३ वैशाख २०८१, बिहिबार

जित्नेमा म ढुक्क छु : श्रेष्ठ चौधरी

blog

काठमाडौं, असोज २६ गते । अगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । यसमा नयाँ पार्टीका नयाँ उम्मेदवारहरू पनि समावेश भएका छन् । ती उम्मेदवारका लागि यो अवसर र चुनौती दुवै हो ।

सङ्घीय चुनावका लागि धेरै उम्मेदवार पुराना र अनुभवी देखिए पनि केही नयाँ अनुहार पनि चुनावमा प्रतिस्पर्धीको भूमिकामा देखिएका छन् । नयाँ जन्मिएको पार्टीको तर्फबाट उम्मेदवारी दिएका प्रायः नयाँ उम्मेदवार नयाँ अनुहारका छन् ।

गत पुसमा मात्रै जन्मिएको एउटा नयाँ पार्टी हो, नागरिक उन्मुक्ति पार्टी । यो पार्टीको तर्फबाट ४१ जिल्लाबाट उम्मेदवारी दर्ता भएको पार्टी अध्यक्षसमेत रहनुभएकी कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले बताउनुभयो । 

उहाँले आफ्नो जित हुने दाबी गर्नुभएको छ । २०७४ को सङ्घीय चुनावमा यो क्षेत्रबाट रेशमलाल चौधरी विजयी हुनुभएको थियो । तर, टीकापुर घटना दोषी करारका कारण उहाँले सांसदको भूमिका निर्वाह गर्न पाउनु भएन । 

यो चुनावमा राष्ट्रिय पार्टी बनाउने सङ्कल्पका साथ कार्यकर्ता जुरमुर्‍याएको पार्टी अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मेरो क्षेत्रमा मसँग प्रतिस्पर्धा गर्ने कोही छ, जस्तो लागेको छैन, त्यसकारण जित्नेमा म ढुक्क छु ।” 

टीकापुर घटना राजनीतिक घटना भएकाले यसलाई कसैले बिर्सन नहुने भन्दै उहाँले भन्नुभयो, “टीकापुर घटनालाई मुख्य आधार मान्दै निर्माण भएको पार्टी हो, यसलाई बिर्सन हुँदैन । यो राजनीतिक घटना हो र यसमा जनताको साथ र सहयोग पूरा छ ।” पार्टी नयाँ भए पनि २०७४ सालको चुनावको अनुभव आफूसँग रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।  

नेतृत्व सम्हाल्ने अवसर पाएकोमा आफू एकदमै खुसी रहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “यो चुनावमा महिलाको उपस्थिति एकदमै कम छ, तर मलाई विश्वास छ सङ्घीय चुनावमा जितेर महिलाको आवाज उठाउने सदस्य बन्ने छु ।” आफू महिला भएकाले पहिलो प्राथमिकता महिला हुनेमा दुईमत नरहेको उहाँले बताउनुभयो । 

कैलाली –१ का जनताको साथ सहयोग आफूसँगै रहेकाले तिजेपछिको जिम्मेवारी आफ्नो हुने भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह चुनावपछि जति स्वतन्त्रता अनुभव गर्नुभएको छ, सङ्घीय चुनावमा पनि त्यसरी नै साथ र सहयोग पाउनुहुनेछ, यसमा म ढुक्क छु ।”

पार्टीको स्थान 

स्थानीय तहको चुनावमा भएको प्रतिस्पर्धाअनुसार पार्टी सङ्घीय चुनावपछि राष्ट्रिय पार्टी बन्नेमा आफू ढुक्क रहेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “टीकापुर घटना राजनीतिक घटना थियो, आपराधिक थिएन, जुन नहुनुपर्ने थियो त्यो भयो, अब मिलेर अगाडि बढ्नुको विकल्प छैन ।” 

“सबैको साथ र सहयोगले यो पार्टी जित्छ,”उहाँले भन्नुभयो, “पहाडी र चौधरीबीच जुन द्धण्ड देखिएको छ त्यो अन्त्य गर्न आवश्यक छ, नभए टीकापुरको विकास हुँदैछ ।” त्यसका लागि पार्टीले थारु मात्र नभई पहाडी समुदायका पनि थुप्रै उम्मेदवार उठाएको छ । टीकापुर विकासका लागि दुइटै समुदाय मिल्न जरुरी रहेको धारणा राख्दै यसका लागि आफूले सक्दो भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।