• २१ वैशाख २०८१, शुक्रबार

चाडपर्वमा पनि चलेन चौरजहारी विमानस्थल

blog

राजु लामिछाने

रुकुमपश्चिम, असोज २६ गते । दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । 

चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो । 

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दशँैतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वास पाएको उहाँले जानकारी दिनुभयो । तर, विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको उहाँको भनाइ छ ।

स्थानीय खिमप्रसाद जैसीले विमानस्थल बेवारिसेजस्तै भएको बताउनुभयो । चाडपर्वका बेला सडक यातायातमा जोखिमपूर्ण यात्रा गर्दै आउने सर्वसाधारणहरू जहाजको सुविधा लिनबाट वञ्चित भएका छन् । “न गतिलो सडक बनेको छ, न त भएको एयरपोर्टमा जहाज आउँछ,” जैसीले भन्नुभयो, “राज्यको ठूलो सम्पत्ति खेर गइरहेको छ, जनताले कष्ट भोगिरहेका छन् ।” 

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । 

तर, विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम झनै कम भएको छ । पछिल्लो पटक यो विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् ।

यता आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले विमानस्थल स्तरोन्नति गर्ने बजेट भने छुट्याएको छ । विमानस्थल अझै विस्तार गर्ने भन्दै सरकारले बजेट विनियोजन गरेको हो । देशका विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरेको छ ।