• १२ साउन २०८१, शनिबार

एपीएफको सुखद सुरुवात

blog

काठमाडौं, असोज २५ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले हरायो ।

बागमतीले दिएको ९० रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । एपीएफको जितमा रोमा थापाले सर्वाधिक २२ रन बनाउनुभयो । ममता चौधरीले १७, नेरी थापाले अविजित १६ र कप्तान सिता रानामगरले १६ रन बनाउनुभयो । बलिङमा बागमतीका सुमन खतिवडा र सोनी पाख्रिनले दुई दुई तथा कप्तान अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ र सुमन खतिवडाले १९ रन बनाउनुभयो । बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिनुभयो ।

जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । दुई खेलमा दुई अङ्क बनाएको बागमती दोस्रो स्थानमा छ । मंगलबार नै भएको अर्को खेलमा सूदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ ।

गण्डकीले दिएको ६० रनको विजयी लक्ष्य पछ्याएको सूदुरपश्चिमले १०.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । सूदुरपश्चिमको यो पहिलो जित हो । महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।