• १२ असार २०८१, बुधबार

उद्धारका लागि आएको हेलिकोप्टर अवतरण गर्न सकेन

blog

फाइल तस्बिर

राजन रावत

हुम्ला, असोज २४ गते । आइतबार गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेपछि कालिकोटमा अवतरण गरेको छ । कालिकोटबाट बाजुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमको कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा अवतरण गरी रोकिएको छ । 

प्रमुख जिल्ला अधिकारी सीता परियार पहिरोबाट घाइते भएका पाँच जनामध्ये सख्त घाइते एक जनाको उद्धारका लागि सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण हुम्ला आउन नसकेको बताउनुभयो । पहिरोमा परी घाइते हुनेमा ३८ वर्षीय देउच्या सार्की, ३६ वर्षीया अंगती सार्की, १४ वर्षकी मनिका सार्की, १२ वर्षकी निरुता सार्की र तीन वर्षको तवेन्द्र सार्की रहनुभएको छ । 

घाइतेमध्ये अंगती विकको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उहाँको उद्धारका लागि हेलिकोप्टर सुर्खेतबाट हुम्ला आएको थियो । अहिलेसम्म घाइतेलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला लैजानुपर्नेमा  खराब मौसमको कारण हेलिकोप्टर कालिकोट सेनाको ब्यारेकमा रोकिएको प्रजिअ परियारले बताउनुभयो ।

आइतबार राति पहिरोमा घर पुरिएर चङ्खेली गाउँपालिका –६ को मासीधारा गाउँको जनबाडाका एउटै परिवारका चार जना सदस्यको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा ६० वर्षीया तुलसा विक, सात वर्षका वसन्त विक, नौ वर्षकी सुस्मिता विक र १२ वर्षीया हैजाली विक रहनुभएको छ । 

मृतकमध्ये एक जनाको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । बाँकी तीन जनाको शव सोमबार बिहान निकालिएको थियो । सदरमुुकाममा बत्ती, नेट र मोबाइल नेटवर्क नभएको कारण घटनाको बारेमा विवरण लिन समस्या भएको प्रजिअ परियारले बताउनुभयो ।