• ११ मंसिर २०८१, मङ्गलबार

अविरल वर्षाका कारण बर्दियाका दुई सय बढी घर डुबानमा

blog

फाइल तस्बिर

काठमाडौं, असोज २३ गते । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।

गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान् पर्व बडा दशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरू बत्ताउँछन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताउनुभयो ।

त्यस्तै, अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताउनुभयो । घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्नसक्ने अवस्था नरहेको उहाँको  भनाइ छ ।

आइतबार दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।