काठमाडौं, असोज २३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापनामा भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गर्नुभएको जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।
उम्मेदवारी दर्ता आइतबार बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।
यसैगरी, उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।