• ११ मंसिर २०८१, मङ्गलबार

आर्यभन्ज्याङ–रामपुर सडक दुई दिनदेखि अवरुद्ध

blog

सडकमा खसेको पहिरो । तस्बिर - रेखीराम राना

रेखीराम राना

पाल्पा, असोज २१ गते । अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अवरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभन्ज्याङ–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको स्याफत, ताहुँलगायतका स्थानमा खसेको पहिरो हटाउन सकिएको छैन ।  भन्ज्याङ

सडकमा खसेको पहिरोले दुई दिनदेखि सडक अबरुद्ध बनेको स्थानीय बासिन्दा पुरन शर्मा गैरेले बताउनुभयो । सडक बन्द भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने पूर्वखोला, निस्दी, रामपुर, रम्भाका स्थानीय बासिन्दा प्रभावित बनेका छन् ।

उनीहरू सदरमुकाम तानसेन, बुटवल, पोखरा जान तथा आउन समस्या परेको गैरेले बताउनुभयो । दुई दिनदेखि अवरुद्ध बाटो खुलाउने प्रयास हालसम्म पनि नभएको उहाँले गुनासो गर्नुभयो । 

उता बाँसटारी–झडेव सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अवरुद्ध बनेको छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग पनि बिहानदेखि पटक–पटक बन्द हुने र खुल्ने क्रम जारी छ । पानी पर्ने बित्तिकै सडकमा पहिरो खस्ने भएकाले यात्रा गर्दा सचेत भएर यात्रा गर्न पाल्पाका ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले यात्रुलाई आग्रह गर्नुभयो ।