• १० मंसिर २०८१, सोमबार

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

blog

ब्राजाभिल्ले, असोज २१ गते । अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।     

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् । यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो ।

विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना छ ।     

यहाँ मानसिक रोग भएका नागरिकहरुको सङ्ख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरुको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो ।     

अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ । सन् १९९० मा मानसिक रोग भएका मानिसहरुको सङ्ख्या ५ करोड ३० लाख मात्र रहेकाेमा अहिले यो सङ्ख्या बढेको हो । मानिसहरुको उपचार तथा उनीहरुका समस्याहरुको सहजीकरण गरिने भएको छ ।     

यहाँ सामाजिक सञ्जालहरुबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो । यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो सङ्गठनले जनाएको छ ।     

यहाँका आमसञ्चारका माध्यमहरुका साथै सामाजिक सञ्जालहरुमा चेतनामूलक सामग्रीहरु प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरु प्रेषित गरिने जनाइएको छ ।

त्यस्तै, मानसिक रोग भएकाहरुको उपचारका लागि पनि विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देश र क्षेत्रहरुमा अभियान थाल्ने जनाएको छ ।